Fri. May 3rd, 2024

चीनको बढ्दो आर्थिक तथा सैन्य प्रभाव कम गर्न भन्दै भारत र अष्ट्रेलियाबीच सैन्य सम्झौता

नयाँ दिल्ली,२०७७ जेठ २२ गते बिहीबार

भारत र अष्ट्रेलियाले आपसमा सैन्य क्याम्पमा पहुँच पुर्याउने सम्झौता गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले भने उक्त सम्झौताले भारत प्रशान्त क्षेत्रमा सैन्य आदनप्रदान र अभ्यासमा सहज हुने प्रतिक्रिया दिएको छ । बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका अष्ट्रेलियन समकक्षी स्कट मोरिसनबीच भर्चुअल सम्मेलन मार्फत सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताले भारत र अष्ट्रेलियाका सैन्य जहाज र विमानहरुलाई इन्धन र निर्माण सामग्री ओसारपसारमा स्वीकृति दिएको छ । भारतले यस्तै प्रकृतिको सम्झौता अमेरिकासँग पनि गरिसकेको छ । जुन सम्झौतालाई चीनको यस क्षेत्रमा बढ्दो आर्थिक र सैन्य प्रभावलाई सन्तुलन कायम राख्न सहयोगी हुने अपेक्षा गरिन्छ ।

पछिल्लो समय चीनसँगको सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेनाबीच छिटफुट झडप भइरहँदा अष्ट्रेलियासँग भारतले सैन्य सम्झौता गरेको हो । मोरिसनले अष्ट्रेलियामा डढेलोको संकटका कारण गत जनवरीमा भारत भ्रमणको तालिका स्थगित गरेका थिए ।

‘प्रधानमन्त्री मोदीले दुईपक्षीय भर्चुअल बैठक आयोजना गर्ने यो पहिलो पटक हो, यसले अष्ट्रेलियासँगको सम्बन्ध प्रगाढ पार्नेछ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सम्झौताअघि जनाएका थिए ।

भारतले अमेरिका र जापानसँग नौसेनाको अभ्यास गराउँदैआएको सम्झौतामा पनि अष्ट्रेलियालाई साझेदार बनाउने बारे तयारी गरिरहेको विदेश मन्त्रालयले जनाएको छ । २००७ मा भारतको यस्तै सैन्य अभ्यासले गर्दा चीन रुष्ट बनेको थियो भनि अन्नपूर्ण पोष्ट दैनिकले भारत र अष्ट्रेलियाले गरे सैन्य सम्झौता शीर्षकमा समाचार लेखेको छ ।

Facebook Comments