Sun. Sep 29th, 2024

“प्रसंसा युवा समाज”को तदर्थ समिति गठन

रमेश हतुवाली/काठमाण्डू, २०८१ साउन २० गते आईतबार । सुदूरपश्चिमको कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्धेश्यसाथ स्थापना भएको प्रसंसा संरक्षण समूह अन्तर्गतका ४ वटा समाजमध्ये आज “प्रसंसा युवा समाज”को तदर्थ समिति गठन गरिएको छ ।

प्रसंसा संरक्षण समूहका संस्थापक अध्यक्ष अम्बादत्त भट्ट, प्रसंसा बुद्धिजीवी समाजका कोषाध्यक्ष तिलक भट्ट र प्रसंसा सिर्जनशील महिला समाजका निवर्तमान अध्यक्ष ज्वाला बिष्टको उपस्थितिमा कार्निभल रेष्टुरेन्ट, थापागाउँ, काठमाण्डूमा एघार सदस्यीय सो समितिको गठन गरिएको हो ।

नितेश चन्दको संयोजकत्वमा गठन गरिएको सो तदर्थ समितिमा टेकराज अवस्थी, अशोक शर्मा, लोकराज भट्ट, उद्धब बोगटी, डम्बर झुकाल, नबिना धामी, ललित नेगी, भरत जोशी, भिम बहादुर बिष्ट, रितु भट्टराई र यशोदा भट्ट सदस्य रहनु भएको छ । यस समितिले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा विशेष ध्यान दिने बताईएको छ ।

प्रसंसा संरक्षण समूह २०५५ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले महाकाली-कर्णाली क्षेत्रलाई धार्मिक तथा पर्यटकीय दृष्टिले प्राथमिकता दिँदै सामाजिक उत्थान, आर्थिक विकास, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा केन्द्रित गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीलाई यस संस्थाले सांस्कृतिक एकतामा जोड्दै काठमाण्डूमा निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आएको तदर्थ समितिका सदस्य उद्धब बोगटीले जानकारी दिनुभयो ।

संस्कृति नै मानव अस्तित्वको सही पहिचान हो भन्ने मान्यता राख्दै, यस संस्थाले धार्मिक तथा सामाजिक मूल्यलाई आयातित साँस्कृतिक उपनिवेशवादबाट बचाउन सचेतना कार्यक्रमहरु पनि आयोजना गरेको छ । त्यत्तिमात्र नभएर विगत २५ वर्षदेखि यस संस्थाले काठमाण्डूमा सुदूरपश्चिम र कर्णालीको सँस्कृति र चाडपर्वलाई पनि भव्य रूपमा मनाउँदै आएको छ ।

प्रसंसा संरक्षण समूहका अन्तर्गत प्रसंसा सिर्जनशील महिला समाज, प्रसंसा बुद्धिजीवी समाज, प्रसंसा युवा समाज, प्रसंसा कला संरक्षण समाज रहेका छन् । यी समाजहरूको सक्रियताले गौरा पर्व, होली, देउडा, र ढुस्कोलाई राष्ट्रिय स्तरमा पहिचान दिन सफल भएको छ ।

Facebook Comments