Fri. Sep 27th, 2024

नेपाली महिला भलिबल टोलीलाई प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा बधाई

काठमाण्डू, २०८१ साउन १९ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । काठमाण्डूमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिनुभएको हो ।

“नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम”, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

आज भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली लाडीलाई बधाई दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ “नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । नेपाली छोरीहरूलाई हार्दिक बधाई १ काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्‍यो भने तेस्रो सेटमा नेपालले भारतलाई २५-१७ ले पाखा लागाएको थियो चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५(१३ ले पराजित गर्‍यो । उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ ।

Facebook Comments