Sun. Apr 28th, 2024

वार्तामा बस्न भारतलाई आग्रह

काठमाडौं,२०७७ जेठ २१ गते बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच देखिएका समस्या कूूटनीतिक संवादमार्फत तत्काल समाधान गर्न आग्रह गर्नुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले नेपाल र भारतबीच सीमा र असमान सन्धि पुनरवलोकन लगायतका समस्याको समाधान छिटो गर्न आग्रह गर्नुभएको हो । भारत सरकारले विभिन्न पक्षमा नेपाललाई हस्तक्षेप गरेको भन्दै उहाँले भूमि फिर्ता गर्न आग्रह गर्नुुभयो ।

भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तामा नेपाली भूमि अतिक्रमण गरेको, विभिन्न सीमास्तम्भ उखेलिएको बताउँदै उहाँले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समस्या समाधानका लागि वार्तामा बस्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वार्ता गरौँ, कूटनीतिक संवादका लागि छिटोभन्दा छिटो बसौँ । ऐतिहासिक तथ्(यहरूले पुष्टि गर्ने भूभाग हामीले प्राप्त ग¥यौँ भने मुख्य समस्या हल हुनेछ ।”

नेपाल र भारतबीच विभिन्न कालखण्डमा भएका असमान सन्धि सम्झौता पुनरवलोकन गरेर त्यसलाई खारेज गरी आजको आवश्यकताअनुसार प्रतिस्थापन गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९५० को सन्धि पुनरवलोकन गरौँ, पारस्परिक सम्मानमा आधारित नयाँ सन्धिद्वारा प्रतिस्थापन गरौँ ।”

प्रबुद्ध व्यक्तिको समूहले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्नुपर्ने भए पनि अहिलेसम्म त्यसलाई बुझ्न अस्वीकार गरेको उल्लेख गर्दै उहाँले दुवै सरकारको सहमतिमा नेपाल भारतको सम्बन्धलाई नयाँ उचाइ दिने विभिन्न पाँच कार्यादेशसहितको जिम्मेवारी दिइएको भए पनि उक्त समूहको प्रतिवेदन स्वीकार नभएको स्पष्ट पार्नुभयो ।

“अहिलेसम्म भारतले उक्त प्रतिवेदन बुझेको छैन, त्यसले हामीलाई दुःखी बनाएको छ । हामी कुनै पनि बेला बुझ्न तयार छौँ । त्यसलाई ग्रहण गरेर सुझावका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा लैजान पहल गरौँ”, उहाँले भन्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments