Tue. Sep 24th, 2024

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका   

 तेल अवीव, २०८१ साउन १९ गते शनिबार । यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।

“रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिनुभएको छ” पेन्टागनकी उप-प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तीमार्फत बताउनुभयो ।

अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरु मध्यपूर्व र भूमध्यसागरमा पठाउने सिएनएनले जनाएको छ ।

विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन् । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो ।
“अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिनुभएको छ”, सिंहले भन्नुभयो ।

अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ जुन आवश्यकता भएमा आदेशअनुसार लेबनानमा रहेका अमेरिकी नागरिकहरूको उद्दार गर्न सक्षम छ ।

इरानले तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगैे मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो ।

इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी व्यक्त गरेको छैन । एएनआई

Facebook Comments