Sat. Sep 21st, 2024

चीनको सुधार र खुलापनबाट विश्वव्यापी लाभ प्राप्त हुने विज्ञहरुको विचार

रमेश हतुवाली/काठमाण्डू, २०८१ साउन १५ गते मंगलबार । “नयाँ युगमा चीनको सुधारलाई गहिरो बनाउने विश्वव्यापी अवसरहरू” नामक विश्वव्यापी संवाद कार्यक्रमको नेपाल विशेष सत्र काठमाण्डूमा आयोजना गरिएको छ ।

चाइना मिडिया ग्रुप एसिया प्यासिफिक मुख्यालयले साईनो नेपाल मिडिया सोसाईटीसँगको सहकार्यमा आयोजना गरेको सो अन्तरक्रियाका वक्ताहरुले भख्खरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रका निर्णयहरु विश्वव्यापी महत्व राख्ने राजनीतिक घटनाक्रम भएको धारणा व्यक्त गर्नुभएको छ ।

अन्तरक्रियामा भिडिओ सन्देश दिनुहुँदै चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले चिनियाँ कम्युनिष्ट पार्टी (CPC) को २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्र भर्खरै चीनको राजधानी पैचिङमा सम्पन्न भएको जानकारी दिनुहुँदै सो सत्र नयाँ युगमा चीनको लागि कोसेढुङ्गा र विश्वका लागि महत्वपूर्ण अवसर भएको बताउनु भयो । चिनियाँ आधुनिकीकरण सुधार र खुलापनको माध्यमबाट अगाडि बढिरहेको जानकारी दिनुहुँदै महानिर्देशक शन हाईस्युङले यसले आधुनिकीकरण र राम्रो सामाजिक प्रणालीको बाटो खोज्न, नयाँ अवसरहरू प्रदान गर्न र विश्वका सबै देशहरूको विकासको लागि नयाँ गतिलाई सिञ्चित गर्न विश्वव्यापी प्रोत्साहन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनका राष्ट्रपति सी चिनफिंगको भनाइ उद्धत गर्दै महानिर्देशक शन हाईस्युङले चीन सधैं विश्वसँग गहिरो रूपमा एकीकृत रहने, साझा भाग्य निर्माण गर्ने,  आधुनिकीकरणको लागि उज्ज्वल भविष्य निर्माण गर्न अन्य देशहरूसँग मिलेर काम गर्नेछ भनि जानकारी दिनुभयो ।

शन हाईस्युङ, महानिर्देशक, चाइना मिडिया ग्रुप

अन्तरक्रियामा बोल्नुहुँदै चाईना मिडिया ग्रुप, एसिया-प्यासिफिक स्टेशनका निर्देशक छाओ यीले पहाडी देश नेपालमा पहिलो पटक आउँदै यहाँको न्यानो र आरामदायी मौसम, चराको सुमधुर आवाज र फूलहरूको सुगन्धयुक्त वातावरण, आत्मीय तथा सरल नेपालीहरुको हार्दिकताले आफ्नै घरमा आएको जस्तो अनुभव गराएको बताउनु भयो । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीनको अझ गहिरो सुधारका लागि समग्र योजना तयार गरेको जानकारी दिनुहुँदै उहाँले विशेषगरी चिनियाँ शैलीको आधुनिकीकरणलाई केन्द्रित गर्दै आगामी पाँच वर्षका लागि विकासको दिशा निर्देशित गरेको बताउनुभयो ।

छाओ यी, निर्देशक, एसिया-प्यासिफिक स्टेशन, सीएमजी

नेपाल पनि आफ्नो राष्ट्रिय परिस्थितिहरूसँग मेल खाने विकासपथको खोजीमा सक्रिय रहेको भन्दै निर्देशक छाओ यीले चीन र नेपाल हिमालको वारिपारि रहेका मुलुकहरू भएको बताउनुभयो । सर्वोच्च शिखर सगरमाथा दुई देशका जनताबीचको सम्बन्धमा अवरोध होइन, बरू  मित्रता र पारस्परिक फाइदाको सहयोगका नयाँ अध्यायहरूको प्रत्यक्षदर्शी बनेको निर्देशक छाओ यी को भनाइ छ । चीनको सबैभन्दा प्रभावशाली र व्यापक अन्तर्राष्ट्रिय मिडिया संस्थाको रूपमा, चाइना मिडिया ग्रुपले नेपालका सबै क्षेत्रहरूसँग निकटरूपमा संचार र सहयोग कायम गर्ने प्रयास गरेको बताउनुहुँदै निर्देशक छाओ यीले चीनको उच्चस्तरको सम्बन्ध विस्तारका आवश्यकतासँग सामना गर्दै र डिजिटल तथा बौद्धिक मिडियाको रूपान्तरणको सन्दर्भमा, चाइना मिडिया ग्रुपले नेपाली बौद्धिक वर्ग, मिडिया, युवा र दर्शकहरूका सुझाव र रायहरू तत्काल प्राप्त गर्न चाहेको पनि बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक नयाँ युगको नयाँ यात्रामा, चिनियाँ कम्युनिष्ट पार्र्टीले सुधार र खुलापनको झण्डालाई दृढतापूर्वक उठाउँदै, चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन थप व्यापक सुधारको वरिपरि केन्द्रित गरी बोलाइएको महत्वपूर्ण बैठक भएको बताउनुभयो । चीनले सधैं नेपालको आर्थिक विकास र समृद्धिलाई खुशीको विषय मान्दै आएको भन्दै राजदूत छन् सोङले नेपालको आर्थिक र सामाजिक विकासको लागि सके जति मद्दत गर्न चीन तयार रहेको जानकारी दिनुभयो । यस पटकको पूर्ण सत्रमा गरिएको सुधारका उपायहरूमा नेपाललगायतका छिमेकी देशहरूको लागि विशेष फाइदाहरू रहेको राजदूत छन् सोङले बताउनुभयो ।

छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय समिति सदस्य तथा परराष्ट्र मामिला विज्ञ विष्णु रिजालले नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुहुँदै दुई देशबीच विश्वव्यापी समानता, आपसी हित र दिगो मित्रतामा दृढ विश्वास रहेको जानकारी दिनुभयो । चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको र नेपालले सधैं चीनको चासोलाई ध्यानमा राखेको नेता रिजालको भनाइ छ । चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २०औँ केन्द्रीय समितिको तेस्रो बैठकबाट चीनको अर्थतन्त्र सुधार गर्न केही महत्वपूर्ण निर्णय भएको भन्दै नेता रिजालले चीनको प्रगतिका कारण विश्वको केन्द्र अब एसियातिर सरेको छ पनि बताउनुभयो ।

विष्णु रिजाल, नेता, नेकपा एमाले

अन्तरक्रियामा नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनका राष्ट्रपति सी चिनफिङको कुशल नेतृत्वमा चीनले निरन्तर प्रगति गरिरहेको बताउँनु भयो । अध्यक्ष श्रेष्ठले चीनको अनुभवबाट नेपाल र बाँकी विश्वले सिक्न सक्ने धेरै कुराहरु रहेको जानकारी दिनुहुँदै   नेपाल र चीनबीचको पारस्परिक सहयोगलाई दिगो बनाउन जनता-जनताबीचको सम्बन्धलाई सुदृढ पार्नु महत्वपूर्ण हुने बताउनुभयो ।

किशोर श्रेष्ठ, अध्यक्ष, नेपाल-चीन मिडिया फोरम

चीनको सछवान विश्वविद्यालयमा विद्यावारिधी गर्दै आउनुभएका नेपाली विद्यार्थी निरज लाओजुले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णयहरूसहित सम्पन्न भएको जानकारी भयो । सो बैठकले चीनको दिगो आर्थिक र सामाजिक नीतिहरू सार्वजनिक गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।

निरज लाओजु, नेपाली विद्यार्थी, सछवान विश्व विद्यालय

कार्यक्रम सहआयोजक संस्था सिनो नेपाल मिडिया फोरमका अध्यक्ष ध्रुब पौडेलले चीनको खुलापन र सुधारबारे चर्चा गर्नुहुँदै यस्ता कार्यक्रमहरुले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ध्रुब पौडेल, अध्यक्ष, साईनो नेपाल मिडिया सोसाईटी

सो अन्तरक्रियामा सहभागीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २०औँ केन्द्रीय समितिको तेस्रो बैठकका निर्णयहरुले विश्वव्यापी रुपमा पार्ने प्रभाव र नेपाल-चीन सम्बन्धका विषयमा गहिरो चासो उत्पन्न भएको रे टेलिभिजनलाई प्रतिक्रिया दिएका छन् ।

Facebook Comments