Sun. Sep 8th, 2024

वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा   

काठमाण्डू, २०८१ साउन १२ गते शनिबार । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ ।

कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट आज उठाइएको फोहर काठमाण्डू महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ ।

सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ ।वि.सं.  २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिइ निरन्तर जारी छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ । काठमाण्डू उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ । काठमाण्डू उपत्यका बाहिरका मुख्य नदी, शहरमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ । रासस

Facebook Comments