Sat. Apr 20th, 2024

प्रहरीद्वारा अश्वेत नागरिकको हत्या गरिएको विरोधमा अमेरिकामा हिंसात्मक प्रदर्शन

काठमाडौं, २०७७ जेठ १८ गते आईतबार

अमेरिकामा प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोइड नामका एक अस्वेत नागरिकको हत्यापछि विभिन्न सहरमा हिंसात्मक आन्दोलन उठेको छ ।

ह्वाइटहाउस अगाडि प्रदर्शन गर्नुका साथै एटलान्टा, न्युयोर्क, मिनेसोटा लगायत सहरमा हिंसात्मक प्रदर्शन भएका छन् । फ्लोइटलाई स्वास फेर्न अप्ठ्यारो हुने गरी प्रहरीले उनको घाँटी थिचेको एक भिडिओ सार्वजनिक भएपछि आन्दोलन थप आक्रामक बन्दैआएको छ ।

यही घटनामा एकजना पूर्वप्रहरी अधिकारीमाथि कारवाही प्रक्रिया सरकारले अघि बढाएको छ । बिबिसीका अनुसार यसरी घाँटी थिच्ने डेरेक चौविन नामका थिए । भिडिओ अनुसार फ्लोइटको घाँटी ८ मिनेट भन्दा लामो समयसम्म थिचिएको थियो । यतिसम्म कि, उनले स्वास फेर्न गाह्रो भयो भनेर चिच्याउँदा समेत छाडिएको थिएन ।

यद्यपि उनीहरुको विवादको कारण के हो त्यो प्रष्ट भएको छैन । घटनापछि चौविनसहित अरु तीन जना प्रहरीहरुलाई हिरासतमा राखिएको छ । घटनाको विरोध गर्दै मिनियापोलिस र सेन्ट पल सहरमा बढी नै हिंसात्मक प्रदर्शन भएको छ । जहाँ सरकारले रातको समयमा कर्फ्यू समेत लगाएको छ ।

फ्लोइटले जीवनको अन्त्यमा ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेको कुरालाई प्रदर्शनकारीले नारा बनाएर प्रदर्शन गरेका छन् । यससँगै अमेरिकाका विभिन्न सहरमा लुटपाटका घटना समेत भएको छ । प्रहरीको पोस्टमार्टम रिपोर्टमा फ्लोइटको घाँटी थिचेर हत्या भएको बुझिएको छ भनि एजेन्सीलाई उद्धत गर्दै अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments