Sun. Sep 8th, 2024

भारत र बेलायतबीच प्रबिधिगत सुरक्षाका लागि सहमति   

नयाँदिल्ली, २०८१ साउन १० गते बिहीबार । भारत र संयुक्त अधिराज्य (बेलायत) ले आर्थिक वृद्धिलाई बढावा दिई सहकार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको सुरक्षाका लागि पहल सुरु गरेका छन् ।

नवनियुक्त बेलायती विदेश सचिवको भारत भ्रमणका क्रममा यो सहमति भएको हो ।

“दुई देशले खनिज, एआइ, सेमीकन्डक्टर र टेलिकमलगायतका क्षेत्रमा सहकार्य गर्ने र जलवायु, व्यापार, प्रविधि र शिक्षाजस्ता मुद्दाहरूमा सहयोगलाई बलियो बनाउने बिषयमा सहमत भएका छन्,” बेलायती विदेश सचिव डेभिड लमीको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लमीले प्राविधिक पहलको माध्यमबाट एआईदेखि खनिजसम्म भविष्यका चुनौतिहरूमा सहकार्य हुने बताउदै यसबाट आपसी आर्थिक लाभका साथै रोजगारी र लगानीलाई बढावा दिन सकिने बताउनु भएको छ ।

उहाँले भारतीय समकक्षी जयशङ्करसँगको वार्तामा दुवैले इन्डो-प्यासिफिकमा रक्षा र सुरक्षा सहयोग बढाउने सहमति जनाएको तथा रूस-युक्रेनद्वन्द्वलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको स्रोतले जनाएको छ ।

लमीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको र उहाँहरूले प्रविधि सुरक्षा पहललाई स्वागत गरेको बताउनुभएको छ ।

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सको पोस्टमा भारत स्वतन्त्र व्यापार सम्झौता गर्न उत्सुक रहेको जनाउनुभएको छ । एपी

Facebook Comments