Sun. Sep 8th, 2024

इरानद्वारा इजरायलका प्रधानमन्त्रीलाई स्वागत गरेकोमा अमेरिकाको निन्दा   

तेहरान, २०८१ साउन १० गते बिहीबार । गाजामा चर्किरहेको घातक युद्धका बीच इजरायली प्रधानमन्त्रीलाई स्वागत गरेकोमा इरानले बिहीबार अमेरिकी सरकारको निन्दा गरेको छ ।

“तेल अवीवले हरेक दिन प्यालेस्टिनी बालबालिकाहरूको हत्या गरिरहेको छ र यी सबै अपराधको मुख्य व्यक्तीलाई अमेरिकाले ताली बजाएर स्वागत गरेको छ”, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।

“नौ महिनाको नरसंहार र शिशु हत्या निम्त्याएका नक्कली शासनको अपराधिक प्रधानमन्त्रीलाई समर्थकहरूले अँगालेका छन्”, उहाँले बुधबार अमेरिकी काङ्ग्रेसलाई सम्बोधन गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उद्धृत गर्दै भन्नुभयो ।

प्रधानमन्त्री नेतान्याहूले मध्यपूर्वका लगभग सबै साम्प्रदायिक हत्यामा तेहरान संलग्न रहेको दाबी गर्दै इरान विरुद्ध गठबन्धनको आह्वान गरेपछि उहाँ विरुद्ध यो टिप्पणी आएको हो।

“अमेरिका र इजरायलले आज बढ्दो इरानी खतराको सामना गर्न मध्यपूर्वमा सुरक्षा गठबन्धन बनाउन सक्छ”, उहाँले अमेरिकी सांसदहरूलाई भन्नुभएको थियो ।

इजरायली तथ्याङ्कअनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले अक्टोबर ७ मा इजरायलमा आश्चर्यजनक आक्रमण गर्दा एक हजार १ सय ९७ जनाको मृत्यु भएपछि गाजामा युद्ध सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार युद्ध सुरु भएदेखि गाजापट्टीमा इजरायली सैन्य आक्रमणमा ३९ हजार एक सय भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

इरानले अक्टोबर ७ मा भएको हमलामा आफ्नो संलग्नता नभएको बताएको थियो । एएफपी

Facebook Comments