Tue. Sep 17th, 2024

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट  

काठमाण्डू, २०८१ साउन १० गते बिहीबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल-स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भ हुन् ।”

उहाँले नेपालको विकास पथमा मित्रराष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताउनुभयो । “नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग रही आएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “यसका लागि म स्वीस सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।”

उहाँले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयमा दुईपक्षीय र बहुपक्षीय मञ्चमा दुवै देशको सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताउनुभयो ।

“नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले नेपाल सरकारले तदअनुसार तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “यसका लागि हामी विकास साझेदारबाट स्रोत-साधन, प्रविधिलगायत आर्थिक साझेदारीको अपेक्षा गर्दछौँ ।”

भेटमा स्वीट्जरल्याण्डका राजदूत डेनियल म्यूली मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असलमित्र भएको जनाउँदै स्वीस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै सङ्घीयतालाई सबल र सुदृद्ध बनाउनमा सहयोगका लागि इच्छुक रहेको बनाउनुभयो । उहाँले स्वीस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्याउने चाहनासमेत व्यक्त गर्नुभयो । रासस

Facebook Comments