Sun. Sep 8th, 2024

प्रसारण लाइन विस्तारको काम तीव्र   

डुम्रे (तनहुँ), २०८१ साउन १० गते बिहीबार । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन-पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ ।

सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग, विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इञ्जिनियर राजेश पौडेलले जानकारी दिनुभयो । प्राधिकरणले विद्युत्का खम्बा धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न थप सहज भएको उहाँले बताउनुभयो ।

सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका बिजुलीका पोल धमाधम हटाएर नयाँ राख्ने काम गरिरहेको आयोजना प्रमुख पौडेलले बताउनुभयो । पहिला सुस्तगतिमा खम्बा स्थानान्तरण हुँदा प्रभावित भएकामा हाल तीव्र रुपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको उहाँले बताउनुभयो ।

पुरानो खम्बा हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो । सदमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन प्रभावितका कारण ढिलाइ भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत रु ९६ करोड लागतमा खम्बा सार्ने काम भइरहेको छ । रु ५२ करोड सडक विस्तार आयोजनाको र बाँकी रकम प्राधिकरणको लागतमा काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिला ११ मिटर अग्लो खम्बा भएकामा हाल १३ मिटर अग्लो खम्बा राखिएको छ ।

तनहुँ वितरणअन्तर्गतको दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणादीसम्म झन्कार जेभीले र थर्पुदेखि मनहरीसम्म विडारी कन्ट्रक्सनले काम गरिहेको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन-पोखरा सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गत नेपालका दुई ठूला सहर-काठमाण्डू र पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने भइरहेको छ ।

वि.सं. २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीसाधनको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको छ ।

सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्रका बाक्लो बस्ती भएका स्थानमा दुई तर्फी २३-२३ मिटरगरी ४६ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक निर्माण हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तारगरी सहरी क्षेत्रमा सर्भिसलेनसहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ । रासस

Facebook Comments