Thu. May 2nd, 2024

भारतले भन्यो-भरोसापूर्ण वातावरण भएमात्र नेपालसँग वार्ता

अनुराग श्रीवास्तव । फाइल तस्वीर

काठमाडौं, २०७७ जेठ १६ गते शुक्रबार

भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक भएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको बताउँदै त्यसका लागि भरोसापूर्ण वातावरण चाहिने बताएका हुन् ।

उनले भने, ‘वार्ताका लागि संवेदनशीलता, सम्मान, विश्वास र भरोसापूर्ण वातावरण चाहिन्छ ।’

अनलाईन खवरका अनुसार भारतले गत वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने बाटो निर्माण गरेपछि नेपाल-भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपाली भूमि मिचेर सडक बनाइएपछि नेपालमा सरकार र जनस्तरमा भारतको तीव्र विरोध भएको छ ।

यहीबीच वर्षौंदेखि भारतको कब्जामा रहेका र नेपालको नक्सामा छुटेका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । सन् १८१६ को सुगौली सन्धिको आधारमा नेपालको भूभाग महाकाली नदीको मुहान लिम्पियाधुरासम्म रहेको भन्दै नेपालले नयाँ नक्सा जारी गरेको हो । सो नयाँ नक्सा नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइएको छ ।

Facebook Comments