Fri. Sep 20th, 2024

बीआरआई रिणको जालो भन्ने प्रचारवाजी गलत भएको विज्ञहरुको भनाइ

- बीआरआई वास्तविकता र भ्रम अन्तरक्रिया

रमेश हतुवाली/काठमाण्डू, २०८१ साउन ३ गते बिहीबार । चिनियाँ विकास परियोजना बीआरआई नेपाल जस्ता मुलुकहरुका लागि रिणको जालो वा रिणको पासो भनि गरिएको प्रचारवाजी गलत भएको विज्ञहरुले बताएका छन् ।

कार्यक्रमका वक्ताहरु फोटो : रमेश हतुवाली

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आज काठमाण्डूस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको “बीआरआई वास्तविकता र भ्रम” विषयक अन्तरक्रियामा सहभागी कुटनीतिज्ञ तथा राजनीतिज्ञहरुले चिनियाँ विकास परियोजना बीआरआई नेपाल जस्ता मुलुकहरुका लागि रिणको जालो वा रिणको पासो भन्ने प्रचारवाजी गलत भएको बताएका हुन् । उनीहरुले नेपालजस्ता विकासोन्मुख मुलुकहरुका लागि बीआरआई परियोजना मुलुकको स्वाधिनता, स्वतन्त्रता र आर्थिक विकासका लागि महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बीआरआई रिणको जालो भन्ने प्रचारवाजी गलत भएको विज्ञहरुको भनाइ, मुलुकको स्वाधिनता र विकासका लागि बीआरआई आवश्यक रहेको राजनीतिज्ञहरुको टिप्पणी ।।

नेपाल खुला विश्व विद्यालयका डीन प्राध्यापक डाक्टर खगेन्द्र प्रसाईले बीआरआईसँगको नेपालको सम्लग्नताले नेपालको भारत लगायतका देशहरुसँगको परनिर्भरता हट्ने र दक्षिण तथा शहरी क्षेत्रमुखी विकासलाई पहाडीक्षेत्रतिर विस्तार गर्न सहयोग पुग्ने बताउनु भयो । डा. प्रसाईले अफ्रिकाको विकासमा बीआरआईले कायापलट गरेको अमेरिकी विज्ञहरुको भनाईले पनि नेपाल जस्ता मुलुकहरुको विकास र प्रभाव विस्तारका लागि बीआरआई महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

प्रा.डा.खगेन्द्र प्रसाई, डीन, नेपाल खुला विश्व विद्यालय, फोटो: रमेश हतुवाली

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव तथा पूर्वमन्त्री देव प्रसाद गुरुङले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि बीआरआई परियोजना मुलुकको स्वाधिनता, स्वतन्त्रता र आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताउनु भयो । बीआरआईसँगको सम्झौताका कुनै पनि बुदा नेपालको हित विपरीत नभएको भन्दै नेता गुरुङले बीआरआई परियोजना नेपालमा भित्रियाउँदा नेपाल रिणको जालोमा फस्छ भन्ने प्रचार गलत भएको जानकारी पनि दिनुभयो ।

देव प्रसाद गुरुङ, महासचिव, नेकपा माओवादी केन्द्र, फोटो: रमेश हतुवाली

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बीआरआईसँगको नेपालको सहकार्यले नेपालमाथि भारतले फेरी पनि नाकाबन्दी लगाउन सक्ने अवस्थाको अन्त्य भएको बताउनुहुँदै विश्व रंगमञ्चमा नेपालको प्रभाव बीआरआईकै कारण बढिरहेको धारणा व्यक्त गर्नुभयो ।

हिरण्यलाल श्रेष्ठ, वरिष्ठ लेखक तथा कुटनीतिज्ञ, फोटो: रमेश हतुवाली

चीनका लागि पूर्व नेपाली राजदूत लीलामणी पौड्यालले विकासोन्मुख देशहरुले प्राप्त गर्ने अनुदान घटिरहेको जानकारी दिनुुहुँदै नेपाल जस्ता देशहरुले विकास निर्माणका लागि लिएको रिणको अवस्थाबारे स्पष्ट छलफल गर्नुपर्ने र बिआरआई बाट प्राप्त सहयोगले देशलाई रिणको पासोमा पार्छ भन्ने प्रचारवाजी गलत भएको बताउनु भयो ।

लीलामणी पौड्याल, चीनका लागि पूर्व नेपाली राजदूत, फोटो: रमेश हतुवाली

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बीआरआईसँगको नेपालको अपेक्षा कनेक्टीभिटि भएको बताउनुहुँदै नेपालले बीआरआई परियोजनामार्फत प्रशस्त फाईदा लिन सक्ने धारणा व्यक्त गर्नुभयो । महासचिव विप्लवले चीन सरकारले साझा भविष्यका लागि विश्वव्यापी सहकार्यको उद्देश्यसहित अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआइ) नयाँ सभ्यताको लडाइ भएको पनि बताउनु भएको छ ।

नेत्र विक्रम चन्द विप्लव, महासचिव, नेपाल कम्युनिष्ट पार्टी, फोटो: रमेश हतुवाली

कार्यक्रमका बक्ताहरुले बीआरआई परियोजनाका बारेमा गरिँदै आएका गलत प्रचारवाजीका पछाडी नलागी चीनको विकास निर्माणका उपलब्धिबाट फाईदा लिन सक्नु पर्ने बताउनुभयो ।

कार्यक्रका सहभागीहरु फोटो: रमेश हतुवाली
Facebook Comments