Fri. Sep 20th, 2024

मृत्यु अपरिहार्य छ : भारतीय प्रवचक भोलेबाबा

नयाँ दिल्ली,२०८१ साउन ३ गते बिहीबार । भारतमा आयोजित एक धार्मिक भेलामा भएको घातक भागदौडमा एक सय २० भन्दा बढी मानिसहरुको ज्यान गएको घटनाको समीक्षा गर्दै एक भारतीय प्रवचकले भाग्यलाई चुनौती दिन नसकिने र मृत्यु अपरिहार्य रहेको बताउनुभएको छ ।

उत्तरी सहर हाथरसमा आयोजित हिन्दु धार्मिक सभामा जुलाई २ मा भएको भागदौडमा एक सय २१ जनाको मृत्यु भएपछी पहिलो पटक सञ्चारमाध्यमसमक्ष प्रस्तुत हुनुभएका प्रवचक भोलेबाबाले आफू यो त्रासदीबाट दुखी भएको बताउनुभयो ।

“जे भयो त्यसबाट म धेरै दुखी छु, तर भाग्यलाई कसले चुनौती दिन सक्छ र ? जो कोही पनि यस पृथ्वीमा आउँछ उसले एक दिन जानैपर्छ” उहाँले भन्नुभयो ।

प्रहरी कन्स्टेबलबाट प्रचारक बन्नुभएको बाबाले बुधबार भागदौड भएको स्थानबाट करिब ६० किलोमिटर टाढाको कासगञ्जमा रहेको धार्मिक मठबाट स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्नुभएको हो ।

बाबाका वकिलले यसअघि भिडमा रहेका असामाजिक तत्वहरु घटनाको जिम्मेवार रहेको बताएका थिए । प्रवचनमा २ लाख पचास हजार भक्तहरू उपस्थित थिए । यद्यपि ८० हजार जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरुसँग थियो ।

मृत्यु भएकामध्ये अधिकांश महिला थिए । भागदौडपछि जारी गरिएको प्रहरी प्रतिवेदनका अनुसार उक्त कार्यक्रमका मुख्य आयोजकहरूलाई पक्राउ गर्न खोजिएको थियो तर भोलेबाबालाई पक्राउ गर्न सकिएको थिएन ।

अहिलेसम्म उहाँका ११ जना स्वयंसेवकलाई भने पक्राउ गरिएको छ । भारतमा धार्मिक जमघटहरूमा कमजोर भीड व्यवस्थापन र सुरक्षा त्रुटिहरूले गर्दा यस्ता घातक घटनाहरू सामान्य छन् ।  सन् २००८ मा उत्तरी सहर जोधपुरको पहाडी मन्दिरमा भएको भागदौडमा २ सय २४ जना तीर्थयात्रीको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए । एएफपी

Facebook Comments