Sun. Oct 20th, 2024

सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए   

नवलपुर (नवलपरासी), २०८१ असार ३१ गते सोमबार । चितवनको भरतपुर-२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । आज यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै आजै मध्यविन्दु-२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका-७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको गैँडाकोट-७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी-१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाण्डूबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३-००१ख-२४९५ र परियार वीरगञ्जबाट काठमाण्डू जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३-००६ख-१५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।

शनिबार गैँडाकोट-७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । अन्सारी वीरगञ्जबाट काठमाण्डू जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उहाँले बताउनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर-२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका-४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ । मिया गणपति डिलक्समा काठमाण्डूबाट गौर जाँदै हुनुहुन्थ्यो ।

पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस-४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।

हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाण्डू जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँँच्न सफल भएका थिए ।

Facebook Comments