Sun. Sep 8th, 2024

प्रधानमन्त्रीद्वारा शैक्षिक क्यालेन्डर लागू गरेकोमा त्रिविलाई धन्यवाद   

काठमाण्डू,२०८१ असार ३० गते आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर लागू गरेकोमा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिनुभएको छ ।

आज प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बराल, रजिष्ट्रार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभएको हो ।

सो क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम कार्यकारी परिषद्बाट पारित गरेकामा धन्यवाद दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याए मात्रै मुलुकमा सकारात्मक परिवर्तन महसुस गर्न सकिन्छ । त्रिविमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेन्डरलगायत क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ । यसले राम्रो सन्देश दिएको छ । भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।”

भेटमा त्रिविका पदाधिकारीले प्रधानमन्त्री दाहालको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताउनुभएको थियो ।रासस

Facebook Comments