Sun. Sep 8th, 2024

ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध   

वासिङ्टन, २०८१ असार ३० गते आईतबार । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ ।

पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको ¥यालीमा गोली प्रहार हुँदा उहाँ आइतबार घाइते हुनुभएको हो ।

विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले हत्या प्रयासका क्रममा घाइते हुनुभएका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गर्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताएका छन् ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि उक्त आक्रमणको निन्दा गर्नुभएको छ । “एक पटक फेरि, हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौं,” उहाँले भन्नुभयो ।

बेलायती प्रधानमन्त्री कीएर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनाबी ¥यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताउनुभयो । “कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ,” उहाँले भन्नुभयो ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले आइतबार पूर्व अमेरिकी राष्ट्रपतिको हत्याको प्रयासलाई ‘त्रासदीप्ुर्ण घटना’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुननहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “अमेरिकी उपराष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद् घटना हो । राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन ।”

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नया राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली आक्रमणप्रति प्रतिक्रिया दिँदै घटनाको निन्दा गर्नुभएको छ । उहाँले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गर्नुभएको चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“हामी लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ रहनुपर्छ,” जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि राजनीतिक आक्रमणको विरुद्धमा प्रतिक्रिया व्यक्त गर्नुभयो ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनियाको घटना दुःखद् भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताउनुभएको छ । साथै, ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।”

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताउनुभएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पूर्व अमेरिकी राष्ट्रपति सुरक्षित भएकोमा राहत व्यक्त गर्दै ट्रम्पको चुनावी कार्यक्रममा भएको डरलाग्दो दृश्यहरू देखेर स्तब्ध भएको बताउनुभएको छ । “यो अष्ट्रेलिया र अमेरिकीहरूले साझा रुपमा अनुशरण गर्ने लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्रतामाथिको अक्षम्य आक्रमण हो,” अल्बनिजले भन्नुभयो ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले ‘कुनै पनि देशले यस्तो राजनीतिक हिंसाको सामना गर्नु हुँदैन’ भन्दै आक्रमणको निन्दा गर्नुभएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पमाथि भएको आक्रमणले आफू र पत्नी सारालाई स्तब्ध बनाएको बताउनभयो । “हामी उहाँको सुरक्षा र शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दछौँ,” नेतान्याहूले भन्नुभयो ।
यसैबीच अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको विरोध गर्दै प्रतिक्रिया जनाउनुभएको छ ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति र उम्मेदवारहरूको कडा सुरक्षाबीच यसअघि पनि राजनीतिक हिंसाका घटनाहरू भएका छन् ।

सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् १९६८ मा उहाँका भाइ बबी केनेडीको गोली हानी हत्या गरिएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सन् १९८१ मा हत्याको प्रयासमा गरिएको यस्तै आक्रमणमा बाँच्न सफल हुनुभएको थियो । एएफपी

Facebook Comments