Thu. Sep 19th, 2024

सिमलताल पहिरोः तीनवटै शवको पहिचान   

भरतपुर (चितवन), २०८१ असार ३० गते आईतबार । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका-२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका-१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गर्नुभएको हो ।

वीरगञ्जबाट काठमाण्डूतर्फ गइरहेको बसमा उहाँ भरतपुरबाट चढ्नुभएको थियो । मृतक विकासको शव नजिकै फेला परेको अर्काे शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताउनुभयो । गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गर्नुभएको प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् ।

शुक्रबार काठमाण्डूबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाण्डू जाँदैै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । काठमाण्डूबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट  काठमाण्डूजाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । रासस

Facebook Comments