तदर्थ सरकार सञ्चालन गर्ने कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री
काठमाण्डू, २०८१ असार २८ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । “नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन”, प्रधानमन्त्रीले भन्नुभयो, “प्राविधिक तयारीका लागि समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । त्यसैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।”
देश बाढीपहिराको चपेटामा परेकाले सरकार चौबिसै घण्टा उद्धार र राहतका काममा लागिरहेका बेला सरकारलाई प्रभावहीन बनाउन प्रयास भएको उल्लेख गर्दै उहाँले नेकपा (एमाले) ले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नगरिएको स्पष्ट पार्नुभयो ।
विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको बताउँदै उहाँले भन्नुभयो, “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म विल्कुल चिन्तित छैन र थिएन ।”
पछिल्ला घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संसद्को पहिलो र दोस्रो ठूलो दल विश्वासले नजोडिएका टिप्पणी गर्नुभयो । “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरङ्कुशता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदैन । हामीलाई पनि त्यही चिन्ता छ”, उहाँले भन्नुभयो । रासस