Mon. Apr 29th, 2024

लकडाउँनले ६० दिन पुरा गर्यो, कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो, शुक्रबार ५० जनामा कोरोना संक्रमण

काठमाडौं, २०७७ जेठ ९ गते शुक्रबार

कोरोना भाइरसको महामारीबाट जोगीन नेपाल सरकारले जारी गरेको लकडाउन बन्दाबन्दीको अवधि ६० दिन पुरा भएको छ ।

यस अवधिमा मुलुक भरीका सार्वजनिक यातायात, हवाई सेवा, विद्यालय, विश्व विद्यालय, सरकारी कार्यालय पूर्ण रुपमा बन्द गरिएका छन् भने कलकारखान पनि बन्द छन् । तर पनि यो डरलाग्दो महामारी कहिलेसम्म रहिरहन्छ र हामीले दुख पाउनु पर्ने हो त्यसको कुनै ठेगान छैन । लकडाउनको समयमा अहोरात्र खटिनुहुने तीनै तहका सुरक्षाकर्मी, चिकित्सक, नर्स तथा श्वयंसेवक एवम् सञ्चारकर्मीहरु धन्यवादका पात्र हुनुहुन्छ ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ ।

शुक्रबार मात्रै थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो २० जनामा र बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय सात पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक बाँकेमा र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनीहरूको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।

यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो ।

१३ जना नरैनापुरका छन् । एकजना राप्तीका रहेका छन् । यस्तै, मोरङका ४१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

शुक्रबार एकैदिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगन्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट तीन हजार आठ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट तीन हजार चार सय २१ जनाको परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा एक हजार चार सय १४, प्रदेश नम्बर २ मा पाँच हजार नाै सय ६, बागमती प्रदेशमा चार सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १५ हजार नाै सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा दुई हजार ६ सय २९ गरी देशभरि २७ हजार आठ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

Facebook Comments