Sun. Sep 8th, 2024

विराटनगरमा युवाहरुबीच ‘ग्याङ फाइट’ एक जनाको हत्या ,दुई जना घाइते

विराटनगरमा दुई पक्षबीच ‘ग्याङ फाइट

महेश भट्टराई / विराटनगर, २०८१ असार २५ गते मंगलबार ।  विराटनगरमा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको  छ ।

विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकम नजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजेतिर दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता  डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए  । घटनामा घाइते भएका मोरङको कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको  छ । घटनामा संलग्न ४ जनालाई  पक्राउ  गरी  सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको  डीएसपी  बस्नेतले  बताएका छन्  ।

गम्भीर अवस्थाका कामतको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । उनको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको चोट छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनामा कटहरी-१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।

घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न विराटनगर-११ घर भइ विराटनगर-२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होम अगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर-२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालक पक्राउ परेका छन् । डीएसपी बस्नेतका अनुसार ‘ग्याङ फाइट’का क्रममा घटनामा संलग्नमध्ये शेर्पाले मृतक र घाइतेलाई कैंचीले जथाभावी प्रहार गरेको यकिन भएको छ ।

घटनामा प्रयोग गरिएको कैंची विराट नर्सिङ होमअगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको जानकारी उनले दिए । उनका अनुसार शेर्पा र पुरीले नर्सिङ होमअगाडिको फार्मेसी (औषधी पसल)मा काम गर्ने गरेको पत्ता लागेको छ । घटनामा संलग्नलाई उनीहरु बस्दै आएको स्थानबाटै पक्राउ गरिएको बस्नेतले बताए ।

उनका अनुसार दुई पक्षबीच आइतबार साँझ वारदातस्थलनजिक विवाद भएको पाइएको छ । केटीको विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ । मृतक र घाइते पक्षका युवाहरुले पीडक पक्षका केटीलाई जिस्क्याएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ । ‘विवादपछि रिसईबी साँधेर बसेको मृतक र घाइते पक्षका १२-१३ जनाको समूहले भोलिपल्ट बाटो ढुकेर पीडक पक्षका युवाहरुलाई सुरुमा आक्रमण गरेको पाइयो ।

सोधपुछका क्रममा पीडक पक्षका युवाहरुले काम सकेर घुम्न निस्किएका बेला हामीमाथि सुरुमा आक्रमण भयो भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘आक्रमण हुन थालेपछि प्रतिकार गर्दा ज्यानै जानेसम्मको घटना भएको रहेछ । केटीको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति हुन पुगेको पाइयो ।’ ‘ग्याङ फाइट’का क्रममा दोहोरो हानाहान हुँदा पीडक पक्षका एक जनाले साथमा बोकेको कैंची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

Facebook Comments