Sun. Oct 6th, 2024

काठमाण्डूमा ‘के-पप वर्ल्ड फेस्टिभल’ सम्पन्न   

काठमाण्डू,२०८१ असार २२ गते शनिबार । कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के-पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ ।

सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के-पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के-पप क्षेत्रीय प्रारम्भिक चरणको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

नेपालमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क ताय-योङले स्वागत मन्तव्यका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ स्वर्ण जयन्तीका अवसरमा के-पपका साथसाथै कोरियाली भाषा, संस्कृतिको माध्यमबाट कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध मजबुत हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरियाली संस्कृतिप्रति नेपाली जनतामाझमा एक अद्वितीय सद्भाव छ । यहाँ के-पप मात्र नभई भाषा, नाटक र परिकारका लागि पनि ठूलो लगाव छ । कोरियाप्रतिको सद्भाव, कोरियाली भाषा, संस्कृतिप्रतिको सम्मानलाई मध्यनजर गर्दै थप सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि दूतावासले विभिन्न सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको छ ।”

उहाँले कोरियाको छाङवोन सहरमा हुने अन्तिम प्रस्तिस्पर्धामा नेपाली समूह सहभागी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो । यसवर्ष प्रारम्भिक चरणको छनोट प्रक्रिया अनलाइनमार्फत गत जेठ २३ देखि यही असार ९ गतेसम्म आयोजना गरिएको थियो । जहाँ ३० भन्दा बढी टिमले आफ्नो रोजाइको कोरियन पप सङ्गीतमा तयार गरिएको गायन तथा नृत्यको श्रव्यदृश्य पठाएर प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसमध्ये नृत्य समूह, एकल नृत्य, गायनसहित छनोट भएका बाह्र टोलीले आज भएको महोत्सवमा आफ्नो प्रस्तुति दिए ।

उनीहरुमध्ये समूह नृत्यतर्फ अरेलिया समूह, गायनतर्फ अञ्जली नेपाली र एकल नृत्यतर्फ सम्राट सुनुवार छनोट हुनुभयो । छनोट भएकाको प्रस्तुतिको श्रव्यदृश्यलाई अन्तिम मूल्याङ्कनका लागि कोरिया पठाइने छ । उल्लेखित तीनमध्ये छनोट हुनेले कोरियामा हुने ‘के-पप वर्ल्ड फेस्टिभल’ आफ्नो प्रस्तुति दिँदै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

पछिल्लो समय सन् २०१६ मा नेपालबाट मङ्गोलियन नाम्जा नामक नृत्य समूहले उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए । नेपाली युवाहरूमा कोरियन पपप्रति देखिएको आकर्षणलाई महत्व दिँदै दक्षिण कोरियाले नेपाली कलाकारलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउने अवसर प्रदान गर्दै आएको जनाइएको छ ।

नेपाल र दक्षिण कोरियाबीच पछिल्लो समयमा जनस्तरको सम्पर्क बढ्दै जाँदा यस किसिमका सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण स्थान लिएको र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राजदूतावासले जनाएको छ । रासस

Facebook Comments