Sun. Oct 6th, 2024

तनहुँमा पहिरामा परी तीन बेपत्ता   

दमौली (तनहुँ), २०८१ असार २२ गते शनिबार । शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उहाँले बताउनुभयो ।
    
ढुङ्गा लागेर एकको मृत्यु    

ऋषिङ गाउँपालिका-१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । रासस

Facebook Comments