Sun. Jul 7th, 2024

दोहोरो अंकले शेयर बजार वृद्धि

ID:16774559

भिओके समाचार/काठमाण्डू, २०८१ असार २० गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १५.४६ अंक बढेर २११९.६९ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ८ करोडको शेयर कारोबार भएकोमा आज ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिजो ६ प्रतिशतभन्दा बढी बढेको वित्त उपसमूहको परिसूचक भने आज ०.५९ प्रतिशतले घटेको छ ।

१५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको आँखुखोला जलविद्युत कम्पनीको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, समाज लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । दोर्दी जलविद्युत् कम्पनीको शेयरमूल्यमा भने सर्वाधिक ४.७५ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको कारोबार रकम १७ करोड नाघेको छ ।

Facebook Comments