Mon. Jul 1st, 2024

मदन जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै   

काठमाण्डू, २०८१ असार १४ गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती देशको कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।

मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरिएको थियो । मदन भण्डारीले २०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

वि.संं. २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उहाँको जन्म भएको थियोे ।

वि.संं. २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउनेक्रममा दासढुङ्गामा दुर्घटना हुँदा उहाँसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । जननेता भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक मानिनुहुन्छ । रासस

Facebook Comments