Sun. Sep 29th, 2024

काङ्ग्रेसले संसद्मा जनताको प्रतिनिधित्व गर्ने विपक्षी नेता गान्धीको भनाइ     

  नयाँदिल्ली, २०८१ असार १२ गते बुधबार । भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक रूपमा कार्यभार सम्हालेपछि आफ्नो पहिलो सम्बोधनमा आफ्ना सांसदहरू चुप लागेर नबस्ने संसद्मा अन्यायविरूद्ध आवाज बुलन्द गर्ने बताउनुभएको छ ।

विपक्षी सांसदहरूले मोदी प्रशासनलाई चुनौती दिने आशासहित गान्धीलाई विपक्षी नेताका रूपमा चयन गरेका छन् ।

“सरकारसँग राजनीतिक शक्ति छ, तर विपक्षले पनि भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्छ,” गान्धीले संसदको तल्लो सदनमा सम्बोधन गर्दै भन्नुभयो ।

“यस पटक, विपक्षीले भारतीय जनताको आवाजलाई उल्लेखनीय रूपमा प्रतिनिधित्व गर्नेछ,” उहाँले बताउनुभयो ।

कुनै समयको शक्तिशाली भारतीय राष्ट्रिय काङ्ग्रेससँग संसद्मा आवाज बुलन्द पार्न विधायिकामा पर्याप्त सिट थिएनन् ।

पहिलो दुई कार्यकालमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले भारी मतान्तरले विजय हासिल गरेपछि संसद्मा विपक्षीहरूको आवाज ‘शून्य’ बनेको थियो ।

भाजपाले यस वर्षको चुनावमा मात्र २४० सिट जितेको छ, जुन एक दशकयताकै सबैभन्दा कम सदस्यसङ्ख्या हो र बहुमतका लागि आवश्यक सदस्यभन्दा ३२ सीट कम हो । यसले गर्दा भाजपाले ५४३ सिटको तल्लो सदनमा २९३ सिटको बहुमत निर्माण गर्न गठबन्धनका सहयोगीहरूमाथि भर परेको छ ।

त्रिहत्तर वर्षीय मोदीले सोमबार ‘सहमति’ का लागि विपक्षीलाई आग्रह गर्नुभएको थियो ।

–लोकतान्त्रिक बहसलाई फस्टाउने सुनिश्चितता गर्न सभामुखसँग गान्धीको आग्रह

सन् २०१४ मा मोदीसत्तामा आएयता काङ्ग्रेस राजनीतिक उजाडस्थानबाट बचाउँदै सबैभन्दा राम्रो परिणाम दिलाउन सफल हुनुभएको छ ।

“हामी चाहन्छौं, सदन निरन्तर र राम्रोसँग चलोस्,” गान्धीले भाजपाका तर्फबाट नयाँ कार्यकालका लागि सभामुख निर्वाचित ओम बिडलालाई सङ्केत गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “विश्वासका आधारमा सहकार्य हुनु र यो सदनमा प्रतिपक्षको आवाजलाई प्रतिनिधित्व गर्न दिनु अति आवश्यक छ ।”

प्रधानमन्त्री मोदीको दल भाजपाले सबै महत्वपूर्ण क्याबिनेट पदहरूमा नियन्त्रण कायम राखेको छ । विश्लेषक भन्छन्, “प्रधानमन्त्री मोदीले संसदमार्फत थप कानूनहरू बनाउन आफ्नो गठबन्धनभित्र सहमति खोज्न बाध्य हुनुहुनेछ ।

गान्धीले बिडलालाई सङ्केत गर्दै भन्नुभयो, “सभामुखको भूमिका कानून पारित गर्न सजिलो बनाउने मात्र होइन, लोकतान्त्रिक बहसलाई फस्टाउने सुनिश्चित गर्नु पनि हो ।”

“सदन कति कुशलतापूर्वक चलाइएको छ भन्ने प्रमुख प्रश्न नभई यो सदनमा भारतको आवाज कति सुन्न दिइएको छ भन्ने हो,” गान्धीले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “प्रतिपक्षको आवाजलाई दबाएर सदनलाई कुशलतापूर्वक सञ्चालन गर्न सकिन्छ भन्ने विचार अलोकतान्त्रिक विचार हो ।” यो निर्वाचनले के देखाएको छ भने भारतका जनताले विपक्षीले यो देशको संविधानको रक्षा गर्ने अपेक्षा गरेका छन् ।एएफपी

Facebook Comments