Wed. Jul 3rd, 2024

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट   

काठमाण्डू,२०८१ असार १२ गते बुधबार । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगा निम्ति कृतज्ञता ज्ञापन गर्नुभयो ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधै नेपालको विकास प्रयासमा योगदान पुरियाएको बताउनुभयो । उहाँले नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपतिले नेपाल र चीनबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायत विभूतिले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन योगदान गरेका बताउनुभयो ।

उपविदेशमन्त्री सुन नेपाल-चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । रासस

Facebook Comments