Sat. Jun 29th, 2024

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार   

  गाजापट्टी, २०८१ असार ११ गते मंगलबार । संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण“ समाप्त भइरहेको बताउनुभएको थियो तर इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गरेको घातक आक्रमणमा परी दुई विध्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा शहरको एक घर नष्ट भएको छ।

इजरायलले गाजाबाट लेबनानको सिमानामा केही सैनिकहरू पुनः तैनाथ गर्ने योजना बनाएको बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सोमबार देशको रक्षामन्त्रीलाई हिंसा बढ्न नदिन दबाब दिनुभएको हो ।

ब्लिन्केनले “द्वन्द्वको थप वृद्धिबाट बच्न र इजरायली र लेबनानी दुवै परिवारलाई आफ्नो घर फर्कन अनुमति दिन कूटनीतिक समाधानमा पुग्ने महत्वलाई जोड दिनुभयो“, प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनमा रक्षामन्त्री योव ग्यालान्टसँगको बैठकपछि बताउनुभएको हो ।

अक्टोबर ७ मा इजरायल-हमास युद्ध सुरु भएदेखि इजरायल र लेबनानको हजबोल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ । पछिल्लो लडाइँमा, इरान समर्थित हजबोल्लाहले सोमबार सीमापारका तीनवटा इजरायली सैन्य स्थल लक्षित आक्रमण गरेको बताएको छ।

इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले पूर्वी लेबनानको बालबेक क्षेत्रमा उग्रवादी पूर्वाधारमा आक्रमण गरेको बताएको छ।

हालैका महिनाहरूमा आ-आफ्ना राष्ट्रका सीमावर्ती क्षेत्रका हजारौँ लेबनानी र इजरायली नागरिकहरू लडाइँका कारण विभिन्न देशमा शरण लिन बाध्य भएका छन्।

“हजबोल्लाहलाई सीमाबाट हटाउनुपर्छ“, इजरायली सीमावर्ती सहर किर्यात शमोनाबाट विस्थापित ४९ वर्षीया हेलेन एबर्गेलले भन्नुभयो ।

गाजामा इजरायली आक्रमणले धेरै पूर्वाधार नष्ट गरेको छ र नागरिकहरु बाँच्न सङ्घर्ष गरिरहेका छन् । एएफपी

Facebook Comments