Fri. Jun 28th, 2024

पोखरा महानगरपालिकाले ल्यायो रु सात अर्ब ५१ करोडको बजेट   

गण्डकी, २०८१ असार १० गते सोमबार । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । महानगरको आज बसेको १५औँ नगरसभामा उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट प्रस्तुुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार बेहोरिने जानकारी दिनुभयो ।

त्यस्तै सङ्घीय राजस्व बाँडफाँटबाट रु ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट रु नौ करोड ७२ लाख २० हजार बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ । स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रु ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ । नगरविकास कोष ऋण रु चार करोड ४८ लाख ८० हजार रहने उल्लेख छ ।

बजेटअन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा-प्रतिष्ठानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु एक अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि रु ५६ करोड, सामाजिक विकासअन्तर्गत लक्षित वर्गतर्फ रु छ करोड र संस्थागत विकासका लागि रु दुुई करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुुभयो ।

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृङ्खला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यूनकार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ । त्यस्तै सरलीकृत र प्रविधिमैत्री सेवाप्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवप्रर्वतन प्रवद्र्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपप्रमुख गुुरुङले बताउनुुभयो ।

पूर्वाधारतर्फ मुस्ताङचोक–सहीदचोक खण्ड, चिप्लेढुङ्गा-सभागृह खण्ड र जिरो-विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि रु तीन करोड, फेवा फेरो पदमार्ग निर्माणमा रु ५० लाख र ड्यामसाइट पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रु ९० लाख छुट्याइएको छ ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि रु २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनका आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवाबीच निर्माणको काम सुरुआत गर्न रु दुुई करोड, सिद्वार्थचोक–विन्ध्यवासिनी सडकखण्डमा पर्ने सम्पदा बस्तीको संरक्षण, विकास तथा प्रवद्र्धनका लागि रु एक करोड विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो ।

पूर्वाधार विकासमा बिपीमार्ग सडक स्तरोन्नतिका लागि रु आठ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा-दोबिल्ला-बागमारा-कोत्रे सडकका लागि रु एक अर्ब ६५ करोड विनियोजन गरिएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि रु ८४ लाख र विद्यार्थीको दिवा खाजाका लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन रु १५ मा महानगरपालिकाबाट रु १० थप गरी प्रतिदिन रु २५ पु¥याउनका लागि रु चार करोड ३० लाख विनियोजन गरिएको छ ।

महानगरबाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरेकाले शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु एक करोड ६५ लाख छुट्याइएको छ । बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि तलबभत्ता अनुदानतर्फ रु चार करोड ७० लाख विनियोजन गरिएको छ ।

शिक्षातर्फ महिला शिक्षकहरुको प्रसूति बिदामा दैनिक शिक्षण सिकाइ प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न रु २५ लाख, स्थानीय कला, संस्कृति, साहित्य, सङ्गीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताउनुुभयो ।

सामाजिक विकासतर्फ उपप्रमुखसँग महिला कार्यक्रममार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप रु एक करोड विनियोजन गरिएको छ भने सहरी गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि रु १५ करोड विनियोजन गरिएको छ ।

बजेटमा एकीकृत पञ्चासे क्षेत्र विकास योजना, नौ वटा ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्ग्यानिक ट्रेल, विन्ध्यवासिनी सम्पदा क्षेत्र विकास परियोजनालगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो ।रासस

Facebook Comments