Tue. Apr 30th, 2024

मदन आश्रितले कहिले न्याय पाउने ?

काठमाडौं, २०७७ जेठ ३ गते शनिबार

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २७ वर्ष भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

नेताको हत्या भएको २६ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ ।

भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो ।

तर सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् ।  कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।

मुलुकमा कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार छ र तत्कालिन एमाले नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्छ तर पनि उहाँहरुले न्याय पाउने छेक छन्द देखिन्न । त्यत्तिमात्र नभएर श्वयं मदन कुमार भण्डारीकी पत्नी विद्यादेवी भण्डारी दुई पटक नेपालको सर्वोच्च पद (राष्ट्रपति)मा विराजमान भैसक्नु भएको छ । तर वर्षमा एक पटक मदन भण्डारी र जीवराज आश्रितलाई स्मरण गर्ने औपचारिकता बाहेक वहाँहरुको रहस्यमय हत्या बारेमा कुनै पनि कुरा नउठ्नु दुभाग्य नै मान्नु पर्छ । आज पनि जनता अनि लाखौ पार्टी कार्यकर्ता भन्दैछन् :”सरकार मदन आश्रितले कहिले न्याय पाउने ?”

Facebook Comments