Sat. Apr 20th, 2024

राष्ट्रपति भण्डारीद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं, २०७७ जेठ २ गते शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताउनु भयो ।

नयाँ पत्रिका दैनिक अनलाईनका अनुसार नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने कुरा उल्लेख गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने भण्डारीले बताउनु भयो ।

आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास-निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताउनु भयो ।

कोभिड-१९ को विश्वव्यापी महामारीका कारण वैदेशिक सहयोगमा कमी आउने अनुमान गर्दै उहाँले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने बताउनु भयो ।

कोरोना महामारीसँग लड्नुपरेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनः प्राथमिकीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गरिने बताउनु भयो ।

 

Facebook Comments