Sat. Sep 28th, 2024

रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता

 काठमाण्डू, २०८१ असार १ गते शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी स्थापनाका अवसरमा आज काठमाण्डूमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो । साथै उहाँले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिनुभयो ।  सङ्गठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।

पार्टीका उपभापति डा. स्वर्णीम वाग्ललेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताउनुभयो । राससका अनुसार पार्टीका महामन्त्री मुकुल ढकालले सङ्गठन विस्तारमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य, युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई उहाँले सुझाब पनि दिनुभयो ।

गत मङ्सिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिनुभएको हो । पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताउनुभयो । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उहाँको भनाइ थियो ।

Facebook Comments