Sat. Apr 20th, 2024

उपत्यकामा अपरिचितलाई रोक

काठमाडौं, २०७७ जेठ २ गते शुक्रबार

उपत्यकाका १८ वटै नगरपालिकाले आ-आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ-आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एक/एक जना गरी तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ । कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको छ । सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजनालाई थप प्रभावकारी बनाउने र पालिका स्तरको समन्वय जिल्लाको स्थिति ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ गर्ने तयारी गरिएको छ । यसअघि आ-आफ्नो पालिकामा निर्माण गरिएका क्वारेन्टाइन थप व्यवस्थित गर्ने, आइसोलेनसन वार्ड थप गर्न सक्ने क्षमता भएका स्थानीय तहले आइसोलेसन वार्ड थप गर्ने तयारी गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

पीसीआर परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि र स्वयंसेवकको नमुनाका रूपको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । महानगरले मात्र उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित व्यक्तिलाई प्रवेशमा रोक लगाउन नसक्ने भएकाले उपत्यकाका सबै नगरपालिकाले उच्च सतर्कता अपनाउनुपर्ने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । उपत्यकामा प्रवेश गर्ने नाकामा नै पीसीआर गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था गर्न सके मात्र उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण रोकिन सक्ने उहाँले बताउनुभयो ।

प्रवेश नाकामै कडाइ गर्नुपर्छ
ललितपुर महानगरपालिकाले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य नाका जोडिएका स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले नाकासँग जोडिएका सबै स्नानीय तहले सवारी साधन कडा चेकजाँच गर्ने बताउनुुभयो । नाकामा हेल्थडेक्स स्थापना गर्ने र गैर नाका हुँदै प्रवेश गर्ने व्यक्तिलाई निगरानी राख्नुपर्ने त्यसका लागि आवश्यक सहजीकरण ललितपुर महानगरपालिकाले गर्न तयारी रहेको उहाँले बताउनुभयो । उपत्यकामा प्रवेश गरेको कोरोना भाइरसलाई समुदाय स्तरमा फैलनबाट रोक्न सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परीक्षणपछि मात्रै : मध्यपुर ठिमी
मध्यपुर ठिमी नगरपालिकाले पीसीआर विधिबाट कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पश्चात् मात्र बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश गर्न दिने निर्णय कार्यान्वयन गर्न सबै नगरवासीलाई आग्रह गरेको छ । पीसीआरको नेगेटिभ रिपोर्ट बिना कोही व्यक्तिलाई कोठा भाडामा वा आफन्तको घरमा राखे नगरपालिकाले घरधनीलाई कारबाही गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार साँझ नगरपालिका वडा नं. ९ मा सुनसरीबाट आफ्नो साथीको कोठामा बस्ने युवतीलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाएको हो ।

रिसोर्टलाई क्वारेन्टाइन बनाउने : गोदावारी
ललितपुरको गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले नगर क्षेत्रका सामुदायिक विद्यालय र रिसोर्टलाई क्वारेन्टाइनमा परिणत गर्ने तयारी गरेको जानकारी दिनुुभयो । नगर क्षेत्रमा भएका सबै विद्यालय रिसोर्टमा क्वारेन्टाइन बनाउन सम्भव छैन तर सम्भव भएका विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी गरिएको नगरपालिकामा जानकारी दिनुभयो । नयाँ व्यक्ति नगर क्षेत्रमा आए उच्च निगरानी राख्न जनप्रतिनिधि, नागरिक सामाजका अगुवा र स्थानीयवासी सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयोे ।

सवारीमा उच्च निगरानी : दक्षिणकाली
दक्षिकाली नगरपालिकाको नाका हुँदै काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको चेकजाँचलाई उच्च प्राथमिकता दिएको छ । नगरप्रमुख मोहन बस्नेतले फर्पिङ, बसपार्क, हुमाने भञ्ज्याङ, राम्चे भञ्ज्याङ लगायतका क्षेत्रमा हेल्पडेक्स स्थापना गरेको उक्त स्थानमा आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाले लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्दै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन साँझ ६ः३० देखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

छ वटा हेल्थडेक्स : शङ्खरापुर
शङ्खरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले उपत्यकामा प्रवेश गर्ने सिन्धुपाल्चोक हुँदै काठमाडौँ भित्रिने साँघुमा हेल्थडेक्स राखी आवश्यक चेकजाँच गरिए पनि पर्याप्त सुरक्षाकर्मीको अभाव भएको बताउनुभयो । नगरपालिकाले चेकजाँच कडाइ गर्न छवटा हेल्थडेक्स स्थापना गरेको हो ।
नागढुङ्गा नाकामा थप सतर्कता
चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण देखिएपछि बन्दाबन्दीलाई बिहीबारबाट थप कडा बनाइएको छ । नगरपालिकाका पदाधिकारी, सुरक्षा संयन्त्र, स्वास्थ्य लगायतका संयुक्त आकस्मिक बैठक बोलाएर बन्दाबन्दी कडा पार्ने र परीक्षण तीव्र बनाउने निर्णय लिइएको हो । बुधबार नगरपालिकाका वडा नं. ९ मा दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नगरपालिकामा थप सावधानी अपनाइएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले राजधानी छिर्ने नागढुङ्गाको मुख्य नाका नै अहिले समस्याको विषय भएको बताउनुभयो ।

घरधनीलाई आग्रह
काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले घरधनीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार प्रत्येक वडा कार्यालयले घरभाडामा बस्ने तथा घरधनीको सचेतनाका लागि टोल-टोलमा
‘माइकिङ’ सुरु गरिएको छ । काठमाडौँ र ललितपुर महानगरपालिकाका कतिपय वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी पाहुना लाग्ने र गृह जिल्लाबाट पुनः फर्किएर कोठामा बस्न आउनेलाई प्रवेशमा निषेध गर्न आग्रह गरेका छन् ।

घरकोठा छाडेर गएकालाई लकडाउन अवधिमा पुनः घरभित्र प्रवेश गर्न दिई कोरोना सङ्क्रमण फेलापरेमा सङ्क्रमित व्यक्तिको उपचार खर्चदेखि महामारी फैलिएमा त्यसको क्षतिपूर्ति घरधनीलाई तिराउने चेतावनी दिन थालिएको छ । अब घरधनीले आफन्त तथा पाहुना र घर बहालमा बस्नेलाई सीधै घरभित्र पस्न दिनेछैनन् । वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गरी त्यस्ता व्यक्तिको कोरोना परीक्षणबाट ‘नेगेटिभ रिपोर्ट’ आए पनि १४ दिन आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments