Fri. Sep 20th, 2024

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा. राउत   

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत शुक्रबार गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै । तस्बिर : नवीन पौडेल/रासस

काठमाण्डू,२०८१ जेठ ३२ गते शुक्रबार । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपश्चात् अध्यक्ष डा. राउतले गणतन्त्रपछिको उपलब्धिलाई राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गर्नुभयो ।

“गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैमा महत्वपूर्ण छ । यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष डा. राउतले भन्नुभयो, “गणतन्त्र आइसकेपछि यसका बारेमा नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भास्यहरु सिर्जना गर्ने काम भइरहेका छन् । अनेक भ्रम फैलाएर निराशाको वातावरण सिर्जना गर्ने काम भएको छ । त्यस्तो पृष्ठभूमिमा राससको तस्बिर प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने मैले अपेक्षा गरेको छु ।”

विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा. राउतको भनाइ थियो । उहाँले गणतन्त्र प्राप्ति पछिको समयमा विकास र पूर्वाधारको क्षेत्रमा कति प्रगति भएको छ, भन्ने विषयलाई पनि राससको तस्बिर प्रदर्शनीले उजागर गरेको उल्लेख गर्नुभयो ।

“विगतमा दुर्गम क्षेत्रसम्म सडक सञ्जाल पुगेको थिएन । नागरिकहरु कुनाकाप्चामा छरपष्ट रुपमा बसेका थिए । सडकले नागरिकको सम्बन्धलाई जोडेको छ”, अध्यक्ष डा. राउतले भन्नुभयो-“भौतिक पूर्वाधारहरु थपिँदै गएका छन् । प्रादेशिक गौरवका योजना पनि बने । यि सबै यस अगाडिको शासनकालमा बन्न सकेका थिएनन । यसलाई राससद्वारा प्रदर्शित तस्बिरहरुले प्रष्ट पार्ने काम गरेको छ ।”

विगत दुई सय वर्षमा जति सडक सञ्जाल निर्माण गरिएको थियो त्योभन्दा कयौँ गुणा यो पछिल्लो ६, ७ वर्षमा तीन तहका सरकार आइसकेपछि बनेका उहाँले बताउनुभयो । गाउँघरमा सडक, शिक्षा, स्वास्थ्यलगायत नागरिकका आधारभूत सेवा सुनिश्चित भएको सन्दर्भमा गणतन्त्रको सकारात्मक उपलब्धिप्रति खासगरी नयाँ पुस्ताले चासो राख्नुपर्ने अध्यक्ष डा. राउतको भनाइ थियो ।

रासस केन्द्रीय कार्यालय भद्रकाली आउनुहुँदा अध्यक्ष डा राउतलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका ९५ तस्बिर समावेश छन् । वि.सं. २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । रासस

Facebook Comments