Sat. Sep 21st, 2024

चिनियाँ सांस्कृतिक मामिला प्रशासनमन्त्रीसहितको टोलीद्वारा लुम्बिनी भ्रमण   

लुम्बिनी, २०८१ जेठ ३० गते बुधबार । चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।

चीनको धार्मिक तथा सांस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले स्वागत गर्नुभयो । बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताउनुभयो ।

उहाँले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिनुभयो । भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन हुनुका साथै बुद्धको सन्देश विश्वव्यापी बनाउन थप सहज हुन्थ्यो, त्यसकारण छिमेकी राष्ट्रको हिसाबले यहाँहरूले पहल गरिदिनुप¥यो । यसैगरी लुम्बिनी दर्शनका लागि चिनियाँ तीर्थयात्रुहरु यहाँ आउन सहज हुन्थ्यो”, त्यसअवसरमा उहाँले भन्नुभएको थियो ।

चिनियाँ मन्त्रीले समेत चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उपाध्यक्ष डा लामाले जानकारी दिनुभयो । “उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको र यो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको र चाँडै उडान हुने अवस्था बनाउन आफू पनि प्रतिबद्ध रहेको छु भन्नुभएको छ”, उपाध्यक्ष डा लामाले रासससँग भन्नुभयो ।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ्ग झिहुइसहितको उपस्थिति रहेको थियो । मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईलगायतको उपस्थिति थियो ।

यसैगरी मन्त्री रुईफेंङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गर्नुभयो । रासस

Facebook Comments