Sun. Sep 22nd, 2024

‘मधुपर्क सम्मान-२०८१’ प्रा गौतम, काँचुली र पहाडीलाई   

 काठमाण्डू, २०८१ जेठ ३० गते बुधबार । यस वर्षको ‘मधुपर्क सम्मान-२०८१’ प्रा कृष्ण गौतम (आख्यान र समालोचना) र मञ्जु काँचुली (पद्य) तथा ‘मधुपर्क प्रतिभा सम्मान-२०८१’ साहित्यकार किशोर पहाडीलाई प्रदान गरिएको छ । विसं २०५९ देखि दिन थालिएको ती सम्मान गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज समालोचक प्रा डा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो ।

सम्मानित स्रष्टालाई सम्मानपत्र र जनही रु ५० हजार नगदसमेत प्रदान गरिएको छ । कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा त्रिपाठीले ‘गोरखापत्र’ र ‘मधुपर्क’ ले नेपाली साहित्यमा ठुलो योगदान पु-याएको बताउँदै पछिल्लो साहित्यिक पत्रिका आद्योपान्त पठनीय सामग्रीयुक्त भएको र यसले पाठकको स्तर पनि उकासेको बताउनुभयो ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थाका प्रकाशन गुणस्तरीय बनाउने प्रयास गरिएको उल्लेख गर्दै तिनलाई ‘डिजिटल फम्र्याट’मा राखेर पाठकमैत्री बनाउन थालिएको जानकारी दिनुभयो । महाप्रबन्धक लालबहादुर ऐरीले नेपाली साहित्यको मानक ‘मधुपर्क’ मा योगदान गर्ने सबै स्रष्टा तथा पाठकप्रति सम्मान प्रकट गर्नुभयो । साहित्यकार प्रमोद प्रधानले पुरस्कृत साहित्यकारको परिचय दिँदै पत्रिकाले नेपाली भाषा-साहित्यको प्रवद्र्धन गर्न, वाङ्मयको विकास गर्न र नेपाली साहित्यकारहरू जन्माउन योगदान दिएको बताउनुभयो ।

संस्थानको साहित्यिक पत्रिका ‘मधुपर्क’ का निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले साहित्यिक कृतिहरूको धेरै खर्च गरेर विमोचन गर्नाका सट्टा साहित्यिक पत्रिकाहरूमा विज्ञापन दिएर प्रचारप्रसार गर्न साहित्यकारहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा ‘मधुपर्क मन्थन’ अन्तर्गत स्रष्टा-द्रष्टा प्रा डा दयाराम श्रेष्ठ र सीता पाण्डे (आख्यान) र प्रा डा लक्ष्मणप्रसाद गौतम र श्यामल (पद्य) ले सहभागीहरूसँग छलफल गर्नुभएको थियो । सो अवसरमा प्रा डा श्रेष्ठले आख्यान खासगरी नेपाली कथा लेखनलाई रातो, निलो, पहेँलो आदि रङका माध्यमबाट विश्लेषण गर्नुभयो । कथाकार पाण्डेले विदेशमा बसेर पनि आफूहरूले नेपाल र नेपाली साहित्यमै चिन्तन गरिरहेको जनाउनुभयो ।

त्यस्तै प्रा. डा. गौतमले नेपाली कविताले समय, समाज र मान्छेबारे बोले पनि त्यसको शाश्वतीकरण भने हुन नसकेको विचार राख्नुभयो । कवि श्यामलले आजकलका नेपाली समालोचक एक सय १३ शब्दमै रुमल्लिएको र परम्परावादी मात्र भएको धारणा राख्नुभयो । रासस

Facebook Comments