Fri. Sep 20th, 2024

शेयर बजारमा उच्च कारोबार

काठमाण्डू,२०८१ जेठ ३१ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले घटे भने कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आज ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

शेयर बजार मापक नेप्सेमा करिब ५ महिनापछि ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो । यसअघि गत माघ ८ गतेका दिन नेप्सेको कारोबार रकम ६ अर्ब नाघेको थियो । आज ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज नेप्से परिसूचकमा भने सामान्य करेक्सन देखिएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको बजारमा आज ९.३२ अंकको गिरावट आई २११२.२९ विन्दुमा झरेको छ ।

राससका अनुसार  नेप्से घटे पनि आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २० करोडको शेयर किनबेच भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार भएको समृद्धि फाइनान्सको भने साढे १७ करोडको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

Facebook Comments