Mon. Sep 23rd, 2024

शेयर बजार आज पनि वृद्धि

काठमाण्डू,२०८१ जेठ ३० गते बुधबार । शेयर बजार आज निरन्तर तेस्रो कारोबार दिन पनि बढेरै बन्द भएको छ । गत सोमबारदेखि बढ्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । हिजो ५ अर्ब ५५ करोडको शेयर कारोबार भएकोमा आज ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से सामान्य अंक बढे पनि ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, गणपति माइक्रोफाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतले वृद्धि भएको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य पनि ८ प्रतिशतले नै बढेको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य भने साढे ४ प्रतिशत घटेको छ ।

राससका अनुसार  कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे २४ करोडको शेयर खरिदबिक्री भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको करिब २० करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ ।

Facebook Comments