Sun. Sep 8th, 2024

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु   

काठमाण्डू, २०८१ जेठ २३ गते बुधबार । चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गर्नुभयो ।

आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा आयोजित उक्त चलचित्र महोत्सव जेठ २३, २४ र २५ गते तीन दिन सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवको उद्घाटन गर्दै उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अझै धेरै जनजाति समुदायका चलचित्रहरु बन्नुपर्छ । यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ ।”

महासङ्घका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृृभाषामा चलचित्र निर्माण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ती चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु-याउन यो महोत्सव महत्वपूर्ण हुने विश्वास छ । जसका निम्ति महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीको विशेष उपस्थिति र विशेष प्रदर्शन हुनेमा विश्वस्त छु ।”

कलाकार दयाहाङ राईले आफ्नो समुदायको चलचित्रलाई विश्व समुदायसँग साक्षात्कार गराउन सबै चलचित्रकर्मीलाई आह्वान गर्नुभयो । “हामीभित्र धेरै कथा छ । हाम्रो मूल्य मान्यता र विश्वासमा चलचित्र बनेका छन्, अझ धेरै कुरा ल्याउन बाँकी छ । यस चलचित्र महोत्सवले विश्व समुदायमा हामी र हाम्रा चलचित्र देखाउनसक्नुपर्छ”, उहाँले भन्नुभयो । रासस

Facebook Comments