Tue. Sep 24th, 2024

फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई भव्य स्वागत

भिओके समाचार/ काठमाण्डू, २०८१ जेठ १४ गते सोमबार । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान कायम गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाण्डूमा भव्य स्वागत गरिएको छ ।

सगरमाथाको आरोहण पश्चात आज काठमाण्डू आईपुग्नु भएकी पत्रकार श्रेष्ठलाई त्रिभूवन अन्तर्राष्टिय विमानस्थलमा उहाँका परिवारजन, इष्टमित्र, छरछिमेक, सञ्चारकर्मी र शुभचिन्तकहरुले गाजाबाजासहित फूल, माला, अविर र खादाले भव्य स्वागत गरेका थिए ।  फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ ।

आरोहण एजेन्सी एट के एक्सपिडिसनका अनुसार उहाँले शनिबार बिहान ५ बजेर ५० मिनेटमा तेस्रो पटक सगरमाथाको आरोहण गर्नुभएको हो । सगरमाथा आरोहणका हिसाबले चौथो पटक चुचुरोमा पुग्नुभएकी श्रेष्ठले यो सिजनमा १३ दिनभित्र तीन पटक सगरमाथाको आरोहणको कीर्तिमान बनाउनुभएको हो । उहाँले यसअघि भारतीय महिलाले एकै सिजनमा दुई पटक चुचुरोमा पुगेको रेकर्डलाई तोड्नुभएको हो । वैशाख ३० गते सहयोगी फुरा टेम्बा शेर्पासहित पहिलो आरोहण गर्नुभएकी उहाँ जेठ ६ गते सहयोगी पासाङ शेर्पासहित दोस्रो पटक चुचुरोमा पुग्नुभएको थियो । त्यसैगरी तेस्रो पटक सहयोगी कर्मा ग्याल्जी शेर्पासहित उहाँ चुचुरोमा पुग्नुभएको हो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पत्रकार श्रेष्ठले सगरमाथा आरोहण गर्ने कार्य गाह्रो भएपनि सफल भएकोमा खुशी व्यक्त गनुहुँदै आफ्नो सफलतामा सबैको साथ र सहयोग रहेकोले नै सफल भएको प्रतिक्रिया दिनुभयो ।

गोरखा आरुघाट गाउँपालिका वडा नम्वर १० की श्रेष्ठले विश्वका धेरै हिमशिखर आरोहण गरिसक्नुभएको छ । उहाँले २०७५ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

Facebook Comments