Sat. Jan 11th, 2025

साना टापु राष्ट्रको चौथो सम्मेलनमा भाग लिन परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान   

काठमाण्डू,२०८१ जेठ १२ गते शनिबार । परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा भाग लिन शुक्रबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले सम्मेलन आयोजनामा गरेको हो । सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा सचिव लम्सालले समूहको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्राललयले जनाएको छ । साथै उहाँले आफ्ना समकक्षीलगायत विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुने छ ।

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा हुनका साथै नयाँ दशकको लागि कार्य योजना प्रस्ताव हुनेछ । राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ । चौथो सम्मेलन “उत्थानशील समृद्धितर्फको मार्गचित्र” शीर्षकमा हुँदैछ । परराष्ट्र सचिव लम्साल जेठ १८ गते काठमाण्डू फर्कनुहुनेछ । रासस

Facebook Comments