Thu. Jul 2nd, 2020

गौतम बुद्ध र उनका दर्शन

काठमाडौं, २०७७ बैशाक २५ गते बिहीबार

डा.भक्त राई
ढोलाहिटी भ्यू पोइन्ट
ललितपुर ।

सिद्दार्थ गौतमको जन्म हाल नेपालको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही जिल्लामा ई.पू.५६३ मा ( समयबारे फरक फरक धारणा ) भएको थियो । राजा शुद्दोदन र रानी मायादेवीको प्रथम पुत्रका रूपमा जन्मेका सिद्दार्थ गौतम सानैदेखि बेग्लै स्वभावका थिए । उनी दरवारभित्रका सुखसयलभन्दा बाहिरी दुनियामा हराउन चाहन्थेँ, जीवन र जगतबारे बुझ्न खोज्दथे । उनको यही स्वभावको कारण एक दिन आफ्नो दरवार र सुखसयल त्यागेर जीवन र जगत बुझ्न बाहिरी सन्सार हिडेँ । यसरी उनी २९ वर्षको उमेरमा घर छोडेर हिडेका थिए ।

उनी लुम्बिनी,बोधगया,ऋषिपतन,सारनाथ,राजगृह,वैशाली,विहार ( मुङ्कुल पर्वत ),गौडा,राजगृह र कपिलवस्तु आदि ठाँउमा ज्ञानप्राप्तिको लागि लगभग सातवर्ष जतिको तपस्या पछि ३५ वर्षको उमेरमा घर फर्किएका थिए ।

गौतम बुद्धले आफूले कुनै पनि ग्रन्थ लेखेनन् । उनको निदन ( निर्वाण) पस्चात उनका शिष्यहरुले सप्तरपणि नामक एउटा गुफामा ठूलो सभाको आयोजना गरे । त्यस सभामा बुद्धका प्रशिद्द उपदेशहरु,प्रश्नोत्तरहरु एकमुष्ट गर्ने काम गरियो र ती छरपष्ट बुद्धका विचारहरुलाइ तीनओटा क्षेत्रमा विभाजन गरियो । यसरी बुद्धका सम्पूर्ण विचार र चिन्तनहरुलाई विषयका आधारमा तीनभागमा विभाजन गरियो जसलाइ त्रिपिटक अर्थात तीनओटा ग्रन्थ सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक भनिन्छ । यसरी तीनओटा पिटकहरु खास गरेर तीनजना शिष्यहरु उपालि, आनन्द र महाकश्यपको सहयोगमा तयार भएको मानिन्छ । ती त्रिपिटकहरुमध्ये आनन्दको सहयोगमा सुत्तपिटक जहाँ स्वयं बुद्दका वचनहरु समावेश छन् ,उपालिको सहयोगमा विनयपिटक जहाँ मानव आचरण सम्बन्धी बताइएको छ र कश्यपको सहयोगमा अभिधम्मपिटक जहाँ बुद्धका दार्शनिक चिन्तनहरु समावेश छन् ।

सिद्दार्थ गौतमले यो सन्सारमा दुखमात्र देखे त्यसैले उनले मानवको दुखको रहस्यहरु बुझ्न सन्यास लिए । सन्यासबाट उनले प्राप्त गरेको ज्ञानलाई आर्यसत्य भनिन्छ । उनले प्राप्त गरेको ज्ञान जसलाई चार आर्यसत्य भनिन्छ त्यही चार आर्यसत्यको सेरोफेरोमा नै बुद्धका दर्शन र चिन्तन घुमेको देखिन्छ । उनलेे बुझेका चार आर्य सत्य हुन् – (१) सन्सारमा दुख छ, (२) दुखको कारण छ, (३) दुखको निवारण छ अर्थात दुखलाइ हटाउन सकिन्छ र (४) दुख हटाउने उपायहरु छन् ।

बुद्धका निदनपछि उनका अनुयायीहरुबीच विभिन्न मतभेद देखा परे । अन्ततः उनीहरु विभाजित हुन पुगे । गौतम बुद्धले निर्वाण प्राप्त गरेको लगभग सय वर्षपछि वैशाली ( हालको इन्डिया विहार) सम्पन्न द्दितीय महासङगति ( सम्मेलनमा ) मा शुरुमा दुइओटा सम्प्रदाय हिनयान (थेरवाद) र महायान सम्प्रदायको रूपमा विभाजित हुन पुगे । पछि यही हिनयानबाट वैभाषिक( बाह्यप्रत्येक्षवाद ),सौतान्तृक र महायानबाट योगाचार( विज्ञानवाद) र माध्यामिक( शुन्यवाद) देखापरे । यसरी नै अलगधारमा अर्को सम्प्रदाय बज्रयान पनि देखा परे । यसरी बुद्धका निदनपछि उनको दार्शनिक विचारहरुलाई अलग अलग ढङ्गले व्याख्या विश्लेषण हुन थाले र विभिन्न बौद्ध सम्प्रदायहरु देखा पर्न थाले ।

बुद्धका अनुसार बार बार जन्म लिनु, बार बार दुखमा पर्नु, बार बार मर्नु यसैको नाम सन्सार हो । यसैलाई भवचक्र भनिन्छ । मानिसमा अविधा ( अज्ञानता) कै कारण सस्कार,नामरुप, षडायतन,स्पर्श,वेदना, तृष्णा,उपादान, भव,जाति, जरामरणजस्ता बार्ह अङगको क्रमशः उत्पत्ति हुन्छ र यिनै अङगलाई भवचक्र भनिन्छ । यसरी नै बौद्ध दर्शनमा मूलतः अष्टशील तथा पञ्चशीलका सिद्धान्तको व्याख्या गरिएको पाइन्छ । बुद्ध दर्शनले मानिसलाई पाँच स्कन्ध जस्तै: रुप स्कन्ध, वेदना स्कन्ध,सङज्ञा स्कन्ध, सस्कार स्कन्ध, विज्ञान स्कन्धलाई विशेष महत्त्व दिएका छन् । बौद्ध दर्शनमा रुप भन्नाले शरीर,वेदना भन्नाले सम्वेग,सङज्ञा भन्नाले ज्ञान,सस्कार भन्नाले स्मरण र विज्ञान भन्नाले चेतना भन्ने अर्थमा प्रयुक्त भएका छन् । बुद्ध दर्शनलाई अनात्मावादी दर्शन भनिन्छ । बुद्धका अनुसार आत्मा वा आफू भन्ने धारणा अहङकार हो र यसले मानिसलाई म र मेरो भन्ने हानिकारक विचारलाई जन्माउदछ । राग, द्वैष,स्वार्थ,तृष्णा,घमण्ड,लोभ, लालच , अहङकार आदि नकारात्मक तत्त्वकै कारण मान्छेमा युद्ध र कलह भएका हुन भन्ने चिन्तन बुद्ध दर्शनमा पाइन्छ । त्यसैले बुद्ध दर्शन अनात्मवादी दर्शन हो । बुद्धले आत्मको सत्तालाई स्वीकार गरेनन् । उनलेे सन्सारका हरेक वस्तु अनित्य,क्षणिक र परिवर्तनशील हुन्छ भन्दै आत्मलाइ पनि अनित्य ठानेका छन् ।

बौद्ध दर्शनले द्वन्द्ववादी तर्क प्रस्तुत गर्दै वैदिक दर्शनलाइ ठूलो चुनौती दिएका थिए । बौद्ध दर्शन अनुसार कुनै पनि वस्तु शाश्वत हुदैन,प्रत्येक वस्तु प्रत्येक क्षण परिवर्तन भइरहेको हुन्छ त्यसैले स्थिरता त भ्रम मात्र हो । यसरी तत्कालीन समाजमा वेदान्त दर्शनले “ब्रम्ह सत्य जगत मिथ्या” भन्दै ब्रम्हलाई नै परम सत्य मान्दथे । वेदान्तीहरुले परिवर्तनलाई भ्रमका रूपमा लिएका थिए भने बुद्ध दर्शनले स्थिरतालाइ भ्रमका रूपमा लिएका थिए । मानिसको शरीर मरेर गए पनि आत्मा कहिले मर्दैन त्यसैले मानिसको मृत्युपछि आत्मा मुक्त हुन्छ र पुनः कसैको भौतिक शरीरमा प्रवेश गर्दछ भन्ने चिन्तनको मान्यता विपरीत कुनै पनि वस्तुको अस्तित्व शाश्वत हुदैन भन्ने चिन्तन बुद्ध दर्शनले राखेको पाइन्छ । बौद्ध दर्शन अनुसार जब कुनै वस्तु नष्ट हुन्छ त्यसको स्थापना दोस्रो हुन्छ अर्थात कुनै चिजमा निर्भर भएर अथवा आसृत भएर अर्को वस्तुको उत्पत्ति हुन्छ भन्ने प्रतित्यसमुत्पादको सिद्धान्त प्रादुर्भाव भयो ।

बुद्धले ईश्वरमा विश्वास गर्दैनथे । ईश्वरमाथिको विश्वासले जीवनमा नुष्कृयता देखा पर्दछ र उच्च जीवनयापनमा बाधा पुर्याउँदछ भन्ने चिन्तन बुद्धको थियो । तत्कालीन समयमा वेदान्त दर्शनको आत्मवादी तथा ईश्वरवादी चिन्तनको विरुद्ध अनात्मवादी र निरीश्वरवादीको रूपमा उभिएको बुद्धलाई पछि हिन्दू कट्टरवादीहरुले विष्णुको दशौ अवतार समेत भन्न भ्याएको देखिन्छ तर यो चिन्तन हिन्दूहरुले बुद्ध दर्शनलाइ आफ्नै अङगको रूपमा स्वीकार गरेर आफैमा समाहित गराउने हिन्दूवादीको चलाखी देखिन्छ ।

वास्तवमा बुद्ध दर्शन निकै विज्ञानसम्मत देखिन्छ । तर यो दर्शनमा पनि पछिल्लो चरणमा बुद्धका अनुयायीहरुले आफ्नै बुझाइ र अनुकूल व्याख्या विश्लेषण गरेर यसको मूल दर्शनलाई तोडमोड गरेको समेत देखिन्छ । अनात्मवादी बुद्ध दर्शनलाई आत्मवादी चिन्तनमा घुसाएको समेत देखिन्छ । कतिपय सम्प्रदायले बुद्धको सरणबाट मात्रै वोधिसत्त्व प्राप्त गर्न सकिन्छ भन्दै वेदान्त दर्शनमा झैँ तन्त्र, स्तुति र आराधनाजस्ता कर्मकाण्डी कार्यतर्फ उन्मुख गराएको समेत देखिन्छ । बुद्ध दर्शन स्वयं पूजा, यज्ञ, जप, तप,होम,तन्त्रमन्त्र,ईश्वर,दानव,स्वर्ग,नर्कजस्ता अन्धविश्वासको बिरुद्ध उभिएको थियो तर पछिल्ला चरणमा बौद्ध परम्परामा पनि यस्तै अन्धविश्वासयुक्त पुनर्जन्म, अवतार, मूर्तिपूजा आदिको विश्वासमा फसेको देखिन्छ ।

यसैगरी विलाशितापूर्ण भव्य बौद्ध विहार, गुम्बा, चैत्य आदिको निर्माण र बुद्धको इच्छा विपरीत अनेकौं सम्प्रदायहरुको निर्माणले बुद्ध दर्शनलाई नराम्रो क्षेती पुर्याइरहेको देखिन्छ । वास्तवमा बुद्ध दर्शन विश्वमै शान्ति र प्रेमको मार्ग देखाउने एक मात्र शक्तिशाली दार्शनिक चिन्तन हो । नेपाली माटोमा जन्मिएको बुद्ध दर्शनलाइ चिन्न नसक्नु हामी नेपाकीहरुकै कमजोरी हो । यसलाई विश्व समुदायमा पुर्याउनु आजको सन्दर्भमा झन आवश्यक देखिन्छ तर नेपाल सरकार र हामीले यसलाई नचिन्नु आफैमा अत्यन्तै दुखलाग्दो कुरा हो । बुद्ध जयन्तिको पावन अवसरमा दार्शनिक बुद्धलाई प्रणाम गर्दै आज यति ।

Facebook Comments