Thu. Apr 18th, 2024

आज २५६४ औँ बुद्ध जयन्ती, पूजापाठ तथा दीपावली गरेर मनाइँदै

काठमाडौं, २०७७ बैशाक २५ गते बिहीबार

भगवान् विष्णुको नवौँ अवतारका रुपमा नेपालको लुम्बिनीमा जन्म लिनुभएका सिद्धार्थ गौतम(भगवान बुद्ध) को २५६४ औँ जयन्ती पूजापाठ तथा दीपावली गरेर बिहीबार भव्य रुपमा मनाइँदैछ ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरण तथा सम्मान स्वरुप मनाइँने गरिन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । यस वर्ष कोभिड-१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ । सरकारले देशवासीलाई कोरोना भाइरस विरुद्ध लडिरहेका चिकित्सक, नर्स, स्वयंसेवक लगायतको सम्मानमा आज साँभल दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ ।

विगतमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका धार्मिक स्थलहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यस वर्ष भने कोरोना भाइरस संक्रमण फैलन सक्ने भएकोले ती स्थलहरुमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता रानी मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्मिनु भएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नु भएको थियो । त्यसैले वहाँ २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किनु भयो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बोधगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान आदि नामले पुकारिएको हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुृ भएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट दिनु भएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गर्नुभयो ।

भगवान गौतम बुद्धलाई शान्तिका अग्रदूत तथा एशियाका ताराका रुपमा चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

वि.संं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि.सं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भदेखि पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौँथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।

बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन विसं २०७० को अन्तिमतिर एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एशियाका भारत, बर्मा, श्रीलङ्का, थाइल्याण्ड, हङ्कङ्, मङ्गोलिया, भुटान, सिङ्गापुर लगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई धेरै देशले समर्थनसमेत गरेका थिए ।

नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव तत्कालीन संविधानसभा सदस्य रामेश्वर फुयाँलले संसद्मा दर्ता गराउनुभएको थियो ।

 

Facebook Comments