Sun. May 31st, 2026

आमा (कविता)

       

-भवानी न्यौपाने ‘भावना’/दाङ, २०८१ वैशाख २६ गते बुधबार ।

दाङआमा मेरी विमल दिलकी स्नेह वात्सल्य खानी
हुर्केँ तिम्रै मृदुल रसिलो काख प्यारो सिरानी ।
पाएँ मैले अमृत सरीको पोसिलो दुग्ध धारा
के पो सक्थेँ अतुल ॠण त्यो तिर्न सम्पूर्ण सारा?

तिम्रै आशीर्वचन ममता साथ पाएर आज
बढ्दै जाँदा प्रगतिपथमा साथ पाएँसमाज
आए कयौं पनि यदि भने विघ्न बाधा तगारा
पन्छाएरै अघि अघि बढु ज्ञान तिम्रै सहारा।।

जन्मेका हौं यस भुवनमा गर्न कर्तव्य पूर्ण
ईष्र्या तृष्णा प्रकृति नरहोस्कार्य बन्छन् अपूर्ण
शुद्दात्मा वा शुभ हृदयका व्यक्तिले साथ दिन्छन्
बन्दा ज्ञानी यस अवनिमा भाग्यले मात्र मिल्छन्।।

आमा तिम्रा वरद कर ती माथमा राखिदेऊ
देवी नै हौ हरपल यहाँ ज्ञान सद्भाव देऊ
पाएँ मैले शिशुवय छँदा शुद्ध संस्कार धेरै
सम्झी सम्झी गति अघि बढोस् चाहना राख्छु मैले।।

कोही मान्छे यस भुवनमा कीर्ति राखेर जान्छन्
कोही मान्छे कलुष मनका दाग राखेर जान्छन्
आमा देऊ विकल दिलमा शान्ति सन्देश खासा
छोरी सम्झी अवगुण भए माफ होस् यो छ आशा।।

Facebook Comments