Sun. May 19th, 2024

कोशी प्रदेश सरकारद्वारा पाँच पत्रकार पुरस्कृत   

मोरङ, २०८१ वैशाख २४ गते सोमबार । कोशी प्रदेश सरकारले आज यहाँ पाँच जना पत्रकारलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अनवरत २५ वर्षभन्दा बढी पत्रकारिता गर्नुभएका विभिन्न जिल्लाका पाँच जना पत्रकारलाई नगद रु एक लाखसहित सम्मान एवं पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनुहुनेमा अनन्तराज न्यौपाने (मोरङ), भीमलाल नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी) हुनुहुन्छ ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारलाई पुरस्कृत र सम्मान गर्नुहुँदै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई परिवर्तनको बाटो देखाउने काम पत्रकारले गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको बताउनुभयो । उहाँले पत्रकारलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई सम्मान गरेको अनुभूति भएको बताउनुभयो । पत्रकारहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिने बताउनुहुँदै उहाँले आगामी प्रदेशसभा अधिवेशनमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले केही महिना अगाडि गोताखोर तालिम समापनमा सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार र अन्यलाई उपचार खर्चको साथै क्षतिपूर्ति दिने सम्बन्धमा सकारात्मक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनवारले समाजका विकृति हटाउन, मुलुकमा सुशासन र समृद्धि ल्याउन पत्रकारले कलम चलाउन आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सूचनाको हकप्रति सरकार सम्वेदनशील रहेकाले कुनै सूचना नलुकाइ पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुङगाना, महासचिव विवेक गौतम, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, सहसचिव कमल थापालगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

पुरस्कृत पत्रकार रामेशचन्द्र अधिकारीले सम्मानले आगामी दिनमा थप ऊर्जाशील भइ काम गर्न प्रेरित गरेको बताउनुभयो । रासस

Facebook Comments