Fri. May 17th, 2024

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

- एक क्रान्तिकारी नारीको अवसान

काठमाडौं, २०७७ बैशाक १९ गते शुक्रबार

रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ।

काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति उहाँको निधन भएको हो ।

इमेज खवरका अनुसार उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको बिहीबार राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गराउनु भएको थियो ।

२०६३ सालमा उहाँको बारेमा “५६ वर्षपछि……….” नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहनु भएकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गर्नुभएको थियो ।

रानुदेवी अधिकारीको जीवनी

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उहाँका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय ९पौडेल० हुनुहुन्छ। उहाँको बाल्यकाल बनारसमा बित्यो। उहाँको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गर्नु भएको थियो। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गर्नु भएको हो। उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै गीत गाउनुभयो।

अधिकारीले इतिहास विषयमा एम।ए। सम्मको अध्ययन गर्नु भएको थियो । उहाँका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना हुनुहुन्छ।

२०६३ सालमा उहाँको बारेमा “५६ वर्षपछि……..” नामक सांगीतिक वृत्तचित्र बनाइयो। उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाउनु भएको हो । वृत्तचित्रमा उहाँको नयाँ एल्बमबारे उल्लेख छ।

स्वर्गीय अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments