Sun. May 19th, 2024

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

काठमाण्डू,२०८१ वैशाख २३ गते आईतबार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’मा उहाँले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री लामिछानेले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, “केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ । आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन । पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला । वनमा आगो लगाउनु अपराध हो । अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ । त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नूहोला ।”

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो । उहाँले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गर्नुभएको छ ।

विपद् नै पिच्छे स्रोत-साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेकातर्फ सङ्केत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत-साधनको अभाव देखाउन नहुने बताउनुभयो । स्रोत-साधन अपुग रहे पनि भएकाको उच्चतम सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिनुभयो ।

नीति, कानुन र व्यावहारिक कठिनाई भए फुकाउन आफूले नेतृत्व लिने भन्दै मन्त्री लामिछानेले डढेलोलगायत विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पनि स्रोत-साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एकीकृत कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको औँल्याउनु भएको थियो ।

दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, एक सय ४० जना घाइते भएको तथा एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ । यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि-२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन् । रासस

Facebook Comments