Sat. May 18th, 2024

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ: ओली   

रसुवा, २०८१ वैशाख २२ गते शनिबार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) रसुवा जिल्लाको नवौँ अधिवेशनको आज धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताउनुभयो । उहाँले केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उहाँको भनाइ थियो ।

समृद्व नेपाल सुखी नेपालीको नारालाई शीरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले केरुङ–काठमाण्डू रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमूनाका रूपमा आफूले सुरूगराएको सिस्नेखोला-दहचोक-काठमाण्डू सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गर्नुभयो ।

एमाले रसुवा अध्यक्ष कर्नेल तामाङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रक्षामन्त्री एवं एमाले केन्द्रीय सदस्य हरि उप्रेतीले पार्टी अध्यक्षको नेतृत्व र निर्देशनमा शिक्षा, स्वास्थ्य, कृषि, सडक सुधारलगायत राष्ट्रहितका कार्य अगाडि बढाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीलाई योगदान गर्ने गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, संविधानसभा सदस्य छोवाङतेञ्जिङ तामाङलगायत नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले केही वर्षअघिदेखि प्रस्ताव अगाडि बढाए पनि कार्यविधि पारित नहुँदा सो प्रस्तावले मूर्तरूप लिनसकेको छैन । अध्यक्ष ओलीको स्थलगत भ्रमणपछि कार्यविधि पारित हुन सघाउपुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

Facebook Comments