Fri. May 17th, 2024

जर्मनीले मे २६ मा म्याक्रोनको राजकीय भ्रमणको आतिथ्यता गर्ने   

 बर्लिन, २०८१ वैशाख २१ गते शुक्रबार । फ्रान्सका राष्ट्रपति म्यानुएल म्याक्रोनले मेमा जर्मनीको राजकीय भ्रमण गर्नुहुने जर्मन राष्ट्रपति फ्रेङ्क-वाल्टर स्टिनमियरले बिहीबार बताउनुभएको छ । कुनै पनि फ्रान्सेली राष्ट्रपतिको २४ वर्षमा यो पहिलो जर्मन भ्रमण हुनेछ ।

राजकीय भ्रमण मुलतः गत जुलाईमा निर्धारित थियो तर फ्रान्समा दङ्गाका कारण उक्त भ्रमण स्थगित गरिएको थियो । म्याक्रोनले जर्मन चान्सलर ओलाफ सोल्ससँग वार्तालापका लागि बर्लिनको नियमित भ्रमण गर्नु भए पनि राजकीय भ्रमणलाई उच्च प्रोटोकलस्तरमा नियन्त्रित गरिन्छ र यसमा प्राय धेरै धुमधाम र समारोह समावेश हुन्छ ।

यस्तो भ्रमणको निमन्त्रणा मुलुकको सेवारत प्रमुखले मात्र दिन सक्छ । जर्मन राष्ट्रपति स्टिनमियरले मे २६ मा बर्लिनमा आफ्नो आधिकारिक निवास स्क्लोस बेलेभ्युमा म्याक्रोनलाई स्वागत गर्नुहुनेछ ।

बर्लिनमा फ्रान्सेली नेता म्याक्रोन युद्धोपरान्त पश्चिमी जर्मनीको स्थापना र पूर्वी जर्मनीमा कम्युनिस्ट शासनको अन्त्यको उपलक्ष्यमा आयोजित स्मरणोत्सव समारोहमा सहभागी हुनुहुनेछ । दुवै नेताले पूर्वी जर्मन सहर ड्रेसडेन र पश्चिममा म्युएनस्टरको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँहरूले मुलुकले प्राविधिक आविष्कार वा सुरक्षामा सहयोग गर्ने साइटहरूको भ्रमण गर्नुहुनेछ ।

“दुवै राष्ट्रपतिले तीन दिवसीय भ्रमणका क्रममा सबै स्टपमा युरोपेली एकीकरणको खुशियाली मनाउनु हुनेछ”, जर्मन राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ । म्याक्रोनको तीन दिवसीय भ्रमण सन् २००० पछि जर्मनीमा कुनै पनि फ्रान्सेली राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हुनेछ । सन् २००० मा फ्रान्सका तत्कालीन राष्ट्रपति ज्याक सिराकले जर्मनीको राजकीय भ्रमण गर्नुभएको थियो । एएफपी

Facebook Comments